रणभूमी सम्वाददाता मंगलबार, भाद्र ०९, २०८३
विराटनगर / ‘सुरक्षित पत्रकार, निर्भीक पत्रकारिता’ भन्ने मूल भावका साथ कोशी प्रदेशका १ हजार २२७ पत्रकारलाई समेट्ने दुर्घटना बीमा कार्यक्रमको शुभारम्भ गरिएको छ। विराटनगरस्थित होटल रुविजमा मंगलबार आयोजित कार्यक्रममा कोशी प्रदेशका मुख्यमन्त्री हिकमतकुमार कार्कीले कार्यक्रमको औपचारिक उद्घाटन गरेका हुन्।
पत्रकारिता पेशालाई थप सुरक्षित, मर्यादित र जिम्मेवार बनाउने उद्देश्यले सुरु गरिएको यस बीमा कार्यक्रमले समाचार संकलन, अनुसन्धान तथा सूचना सम्प्रेषणका क्रममा पत्रकारहरूले सामना गर्नुपर्ने जोखिम न्यूनीकरणमा महत्वपूर्ण योगदान पुग्ने विश्वास गरिएको छ।
कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री कार्कीले लोकतन्त्रको सुदृढीकरणमा पत्रकारिताको भूमिका अत्यन्त महत्वपूर्ण रहेको उल्लेख गर्दै पत्रकारको सुरक्षा र पेशागत सम्मान राज्यको प्राथमिकतामा पर्नुपर्ने बताए। उनले जोखिमपूर्ण परिस्थितिमा समेत सत्य तथ्य समाचार सम्प्रेषण गर्ने पत्रकारहरूको सुरक्षाका लागि प्रदेश सरकारले आवश्यक सहयोगलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरे।
बीमा कार्यक्रममार्फत कोशी प्रदेशका १ हजार २२७ पत्रकार लाभान्वित हुनेछन्। यसले दुर्घटनाबाट उत्पन्न हुन सक्ने आर्थिक जोखिम कम गर्नुका साथै पत्रकारलाई थप आत्मविश्वासका साथ आफ्नो पेशागत दायित्व निर्वाह गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।
पत्रकारहरूको सामाजिक सुरक्षा र पेशागत संरक्षणका लागि सुरु गरिएको यो कार्यक्रमलाई कोशी प्रदेशमा सञ्चार क्षेत्रको सुदृढीकरणतर्फको महत्वपूर्ण कदमका रूपमा हेरिएको छ। कार्यक्रममा प्रदेश सरकारका प्रतिनिधि, सञ्चारकर्मी, पत्रकार महासंघका पदाधिकारी तथा विभिन्न सञ्चारमाध्यमका पत्रकारहरूको सहभागिता रहेको थियो।