रणभूमी सम्वाददाता सोमबार, मंसिर ०१, २०८२
बिराटनगर / नेपाल-भारत सीमा पारि लागुऔषध सेवन गर्न गएका एक युवालाई अज्ञात समूहले कुटपिट गरी लुटपाट गरेको घटना सार्वजनिक भएको छ।
आइतबार साँझ ६:३० बजे रगतामय अवस्थामा केराबारी ५, मोरङ बस्ने २८ वर्षीय रुकेश राई इलाका प्रहरी कार्यालय रानी सीमा आइपुगेका थिए। लागुऔषध सेवन गर्न भारतको जोगबनी टिकुलिया बस्तीतर्फ गएका राईलाई अज्ञात ३ जना भारतीय युवाहरूले कुटपिट गरी लुटेका थिए।
इलाका प्रहरी कार्यालय रानी सीमाका प्रमुख प्रहरी नायब निरीक्षक सन्तोष कुमार निरौलाले घाइतेलाई तत्काल कोशी अस्पताल बिराटनगर पुर्याई उपचारको व्यवस्था गरेका थिए। प्रहरीले राति ११ बजेसम्म खोजी गरी राईको प्रदेश १-०२-०४९ प ८७५६ नम्बरको एनएस पल्सर मोटरसाइकल समेत फेला पारी घाइतेका आफन्तलाई जिम्मा लगाएको थियो।
हाल राईको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचार भइरहेको उनका आफन्तले बताएका छन्।
घटना भारतमा भएको हुँदा प्रहरीले कानुनी रूपमा कारबाही गर्न नसकेपनि मानवीय र पेशागत धर्म पालन गर्दै उद्धार कार्यमा खटिएको प्रहरीले जनाएको छ।