रणभूमी सम्वाददाता बिहिबार, फाल्गुण १४, २०८२
दमक / झापाको कमल गाउँपालिकामा चुनावी रिपोर्टिङ गरिरहेका पत्रकार अर्जुन आचार्यमाथि नेकपा (एमाले) का कार्यकर्ताले भौतिक आक्रमण गरेका छन्। ‘हाम्रोमत’ दैनिकका कार्यकारी सम्पादक आचार्यमाथि बिहीबार दिउँसो कमल गाउँपालिकाको जीवन चोकमा कुटपिट भएको हो।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली सहभागी घरदैलो कार्यक्रमको समाचार संकलन गर्ने क्रममा एमालेको ‘भोलेन्टियर फोर्स’ का सदस्यहरूले आचार्यमाथि आक्रमण गरेका हुन्। बा २५६१ नम्बरको स्कर्पियोमा आएको समूहले उनीमाथि कुटपिट गरेको प्रत्यक्षदर्शीले बताएका छन्।
घरदैलोका क्रममा स्थानीय महिलाहरूले राष्ट्रिय स्वतन्त्र पार्टीको चुनाव चिन्ह ‘घण्टी’ देखाएर साङ्केतिक विरोध जनाएपछि एमाले कार्यकर्ताहरूले उनीहरूमाथि अश्लील शब्द प्रयोग गर्दै दुर्व्यवहार गरेका थिए। सो दृश्यको फोटो र भिडियो खिच्न खोज्दा पत्रकार आचार्यमाथि समूहबद्ध आक्रमण भएको थियो।
आक्रमणबाट आचार्यको आँखा, गाला र ढाडमा चोट लागेको छ भने उनको चस्मा समेत फुटेको छ। आक्रमणकारीले आचार्यको मोबाइल समेत खोसेर लगेका छन्। घटनास्थलमा रहेका अन्य पत्रकारहरूले उनलाई उद्धार गरेका थिए।
घटनापछि पनि एमाले कार्यकर्ताहरूले पत्रकारको टोलीलाई ‘दमकमा देखाइदिने’ भन्दै धम्की दिएको पत्रकार रोहित दाहालले जानकारी दिनुभयो। स्वतन्त्र रूपमा सूचना संकलनमा खटिएका पत्रकारमाथि भएको यस आक्रमणको अहिले चौतर्फी विरोध भइरहेको छ।