रणभूमी सम्वाददाता आइतबार, आषाढ २८, २०८३
विराटनगर / मोरङको विराटनगर महानगरपालिका–१९ खबासटोलस्थित पानीको पैनीमा नुहाउने क्रममा डुबेर बेपत्ता भएका ९ वर्षीय बालकलाई सशस्त्र प्रहरी बलको टोलीले उद्धार गरेको छ।
आइतबार दिउँसो करिब १२ः२० बजे ग्रामथान गाउँपालिका–२ झोराहाट निवासी अरबिन्द सरदारका ९ वर्षीय छोरा प्रित सरदार पैनीमा नुहाउने क्रममा डुबेर बेपत्ता भएको जानकारी प्राप्त भएपछि सशस्त्र प्रहरी बल नेपाल नं. ३ गण मुख्यालय कंकालिनी मोरङबाट सशस्त्र प्रहरी निरीक्षक बिरेन्द्र बोहोराको कमाण्डमा १६ सदस्यीय (डिजास्टर म्यानेजमेन्ट टोलीसहित) टोली तत्काल घटनास्थल पुगेको थियो।
टोलीले दिउँसो १२ः५० बजेदेखि खोज तथा उद्धार अभियान सञ्चालन गरी १ः२५ बजे बालकलाई अचेत अवस्थामा पानीबाट बाहिर निकालेको थियो। उद्धारपछि घटनास्थलमै सीपीआर तथा प्राथमिक उपचार गरिएको थियो।
त्यसपछि सशस्त्र प्रहरीको गाडीमार्फत बालकलाई थप उपचारका लागि दिउँसो १ः५५ बजे कोशी अस्पताल, विराटनगर पुर्याइएको थियो। हाल उनको अस्पतालको आईसीयूमा उपचार भइरहेको सशस्त्र प्रहरीले जनाएको छ।