११ साउन २०८३, सोमबार
Tags

देवानगञ्ज घटनापछि गृहको कडा कदम: सीडीओसहित सुरक्षा निकायका प्रमुख फिर्ता, छानबिन समिति गठन

रणभूमी सम्वाददाता सोमबार, साउन ११, २०८३

विराटनगर / सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा आइतबार राति भएको हिंसात्मक घटनापछि गृह मन्त्रालयले सुनसरीका प्रमुख जिल्ला अधिकारी (सीडीओ) बासुदेव घिमिरेसहित सुरक्षा निकायका प्रमुखहरूको व्यापक सरुवा तथा फिर्ता गर्ने निर्णय गरेको छ।

गृह मन्त्रालयले सीडीओ घिमिरेलाई मन्त्रालयमा फिर्ता बोलाउँदै उहाँको स्थानमा संखुवासभाका प्रमुख जिल्ला अधिकारी इश्वरीप्रसाद अर्याललाई सुनसरी पठाएको छ।

त्यसैगरी, कोशी प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक (डीआईजी) विनोद घिमिरेलाई प्रहरी प्रधान कार्यालय, काठमाडौं तानिएको छ भने प्रहरी प्रधान कार्यालयमा कार्यरत डीआईजी शेखर खनाललाई कोशी प्रदेश प्रहरी कार्यालयको जिम्मेवारी दिइएको छ।

जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रमुख प्रहरी उपरीक्षक (एसपी) केशव थेवेलाई भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सरुवा गरिएको छ। उहाँको स्थानमा विमानस्थलमा कार्यरत एसपी पुष्पराज मल्ललाई सुनसरी पठाउने निर्णय गरिएको छ।

यसैबीच, सशस्त्र प्रहरी बल नेपाल, कप्तानगञ्जमा कार्यरत प्रहरी नायब उपरीक्षक (डीएसपी) नन्दकिशोर महतोलाई पनि फिर्ता बोलाइएको छ। उहाँको स्थानमा सशस्त्र प्रहरी बल प्रधान कार्यालय, काठमाडौंमा कार्यरत डीएसपी मदन नाथलाई खटाइएको छ।

आइतबार राति डिजे बजाउने विषयलाई लिएर सुरु भएको विवाद उग्र बन्दा देवानगञ्ज–३ कप्तानगञ्जमा दुई समूहबीच झडप भएको थियो। स्थिति नियन्त्रणमा लिन प्रहरीले चलाएको गोली लागेर एक जनाको मृत्यु भएको थियो। घटनामा ९ जना सर्वसाधारण, १० जना नेपाल प्रहरी र ५ जना सशस्त्र प्रहरी गरी कुल २४ जना घाइते भएका छन्।

घटनाको सत्यतथ्य छानबिन गर्न गृह मन्त्रालयले सहसचिव भूपेन्द्र थापाको संयोजकत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरेको छ। समितिलाई एक साताभित्र प्रतिवेदन बुझाउने जिम्मेवारी दिइएको छ।

घटनापछि थप अप्रिय अवस्था सिर्जना हुन नदिन जिल्ला प्रशासन कार्यालय सुनसरीले देवानगञ्ज र हरिनगर गाउँपालिकाका केही क्षेत्रमा सोमबार बिहान ७ बजेदेखि अर्को आदेश नभएसम्मका लागि अनिश्चितकालीन कर्फ्यु आदेश जारी गरेको छ। सुरक्षा व्यवस्था थप कडा पारिएको छ भने प्रभावित क्षेत्रमा नेपाल प्रहरी, सशस्त्र प्रहरी र अन्य सुरक्षा निकायको परिचालन बढाइएको छ।

यहाँ कमेन्ट गर्नुहोस्