१५ साउन २०८३, शुक्रबार
Tags

देवानगञ्ज घटनाः मृतक ओमप्रकाश र जयप्रकाशका परिवारसँग सरकारको ७ बुँदे सम्झौता, शहीद घोषणा प्रक्रिया अघि बढाइने

रणभूमी सम्वाददाता शुक्रबार, साउन १५, २०८३

विराटनगर / सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कमानागाछीमा गत साउन १० गते भएको घटनामा ज्यान गुमाएका ओमप्रकाश मेहता र जयप्रकाश मेहताका परिवार तथा गृह मन्त्रालयबीच ७ बुँदे सम्झौता भएको छ।

सम्झौताअनुसार सरकारले दुवै मृतकलाई शहीद घोषणा गर्ने प्रक्रिया तत्काल अघि बढाउने तथा प्रत्येक परिवारलाई १० लाख रुपैयाँका दरले राहत उपलब्ध गराउने प्रतिबद्धता जनाएको छ।

यस्तै, घटनाको निष्पक्ष र प्रभावकारी छानबिन गरी दोषीमाथि प्रचलित कानुनबमोजिम आवश्यक कारबाही गरिने उल्लेख गरिएको छ। साथै, देवानगञ्ज गाउँपालिका–३ स्थित मदरसाको कानुनी हैसियत तथा सम्बन्धित विषयमा आवश्यक छानबिन तत्काल सुरु गर्ने सहमति भएको छ।

सम्झौतामा प्रत्येक मृतकका परिवारबाट एक–एक जना योग्य सदस्यलाई रोजगारीको अवसर उपलब्ध गराउने, घटनाको अध्ययनका लागि गठित छानबिन समितिको प्रतिवेदनका सुझाव कार्यान्वयन गर्ने तथा मृतकहरूको सम्झनामा गाउँपालिकाको उपयुक्त स्थानमा स्थानीय सरकारसँग समन्वय गरी स्मृति पार्क निर्माण गर्ने विषय पनि समेटिएको छ।

सम्झौतापत्रमा मृतकका परिवारका प्रतिनिधि तथा सरकारका तर्फबाट गृहमन्त्री सुधन गुरुङले हस्ताक्षर गरेका छन्।

सम्झौतापछि पीडित परिवारले सरकारले गरेका प्रतिबद्धता समयमै कार्यान्वयन हुने विश्वास व्यक्त गरेका छन्। सरकारले पनि सम्झौतामा उल्लेखित सबै बुँदा चरणबद्ध रूपमा कार्यान्वयन गर्ने जनाएको छ।

देवानगञ्जमा साउन १० गते भएको घटनापछि उत्पन्न तनावलाई सम्बोधन गर्दै भएको यो सम्झौतालाई पीडित परिवारलाई राहत, न्याय र दीर्घकालीन व्यवस्थापनतर्फको महत्वपूर्ण कदमका रूपमा हेरिएको छ।

यहाँ कमेन्ट गर्नुहोस्