०३ भाद्र २०८३, बुधबार
Tags

२४ घण्टामा देशभर ५ जनाको मृत्यु, १२५ घाइते

रणभूमी सम्वाददाता बुधबार, भाद्र ०३, २०८३

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर भएका सवारी दुर्घटनामा परी ५ जनाको मृत्यु भएको छ भने १२५ जना घाइते भएका छन्। नेपाल प्रहरीले सार्वजनिक गरेको २४ घण्टाको सवारी दुर्घटना विवरणअनुसार देशका विभिन्न प्रदेश तथा काठमाडौं उपत्यकामा भएका दुर्घटनामा ठूलो संख्यामा मानिस घाइते भएका हुन्।

प्रहरीले सार्वजनिक गरेको प्रदेशगत विवरणअनुसार कोशी प्रदेशमा १ जनाको मृत्यु र २८ जना घाइते भएका छन्। त्यस्तै मधेश प्रदेशमा १ जनाको मृत्यु र २६ जना घाइते, बागमती प्रदेशमा १ जनाको मृत्यु र १३ जना घाइते, गण्डकी प्रदेशमा १ जनाको मृत्यु र १ जना घाइते तथा लुम्बिनी प्रदेशमा १ जनाको मृत्यु र १८ जना घाइते भएका छन्।

यसैगरी काठमाडौं उपत्यकामा २३ जना, कर्णाली प्रदेशमा २ जना घाइते भएका छन्। सार्वजनिक गरिएको नक्साअनुसार सुदूरपश्चिम प्रदेशमा भने उक्त अवधिमा मृत्यु तथा घाइतेको संख्या शून्य देखाइएको छ।

यसरी हेर्दा मृत्यु हुने पाँचै जना कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका रहेका छन्।

कोशीमा सबैभन्दा बढी घाइते
प्रदेशगत विवरणमा कोशी प्रदेश सबैभन्दा बढी घाइते हुने प्रदेश बनेको छ। यहाँ २८ जना घाइते भएका छन्। मधेशमा २६, काठमाडौं उपत्यकामा २३, लुम्बिनीमा १८, बागमतीमा १३, कर्णालीमा २ र गण्डकीमा १ जना घाइते भएको प्रहरीको नक्सामा उल्लेख छ।

पाँचवटा दुर्घटनामा पाँच जनाको मृत्यु
प्रहरीले उपलब्ध गराएको विस्तृत जानकारीअनुसार मृत्यु भएका पाँच जनाको मृत्यु छुट्टाछुट्टै दुर्घटनामा भएको हो।

मोरङमा कानेपोखरी गाउँपालिका–७ आइतबारे चोकस्थित रंगेली–कानेपोखरी सडकखण्डमा मोटरसाइकलको ठक्करबाट पैदलयात्री ७० वर्षीया सिमा तामाङ घाइते भएकी थिइन्। स्थानीय मेडिकलमा उपचारपछि थप उपचारका लागि विराट टिचिङ अस्पताल विराटनगर पठाइए पनि उपचार सम्भव नभएको भन्दै आफन्तले घर ल्याएका थिए। घरमै राखिएको अवस्थामा उनको मृत्यु भएको प्रहरी विवरणमा उल्लेख छ।

बारामा निजगढ नगरपालिका–७ स्थित पूर्व–पश्चिम राजमार्गमा साइकलयात्री ७५ वर्षीय चन्द्रबहादुर श्रेष्ठलाई मोटरसाइकलले पछाडिबाट ठक्कर दिएको थियो। गम्भीर घाइते श्रेष्ठको वीरगञ्जस्थित ज्योति अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो।

मकवानपुरको भीमफेदी गाउँपालिका–६ जुरीखेलमा प्रदेश ३–०१–००२ झ ५१८३ नम्बरको स्कारपियो अनियन्त्रित भई सडकबाट करिब ६० मिटर तल खोल्सामा खस्दा बैतडी दशरथचन्द नगरपालिका–७ की ४९ वर्षीया लक्ष्मी बुडालको मृत्यु भएको छ।

मुस्ताङको घरपझोङ गाउँपालिका–४ पुथाङखोलास्थित जोमसोम–कोरला सडकखण्डमा ना.१ क २७०१ नम्बरको टिपरबाट खसेर रोल्पाको लुङ्ग्री गाउँपालिका–३ का २३ वर्षीय हरिबहादुर पुन घाइते भएका थिए। उपचारका लागि प्रदेश अस्पताल जोमसोम लगिएका पुनको उपचारकै क्रममा मृत्यु भएको हो।

त्यसैगरी नवलपरासी पश्चिमको रामग्राम नगरपालिका–६ लोसडा क्षेत्रमा मोटरसाइकलबाट लडेर ४५ वर्षीय मुन्सी हजामको मृत्यु भएको छ। युरिया मल लिएर घरतर्फ जाने क्रममा अचानक मोटरसाइकलबाट लडेका हजामलाई उपचारका लागि जिल्ला अस्पताल परासी लगिएको थियो। अस्पतालमा चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए।

यहाँ कमेन्ट गर्नुहोस्