रणभूमी सम्वाददाता बुधबार, मंसिर १०, २०८३
विराटनगर। विराटनगर जेसीजको आगामी कार्यकालका लागि अध्यक्षमा रञ्जन कुमार शाही निर्वाचित भएका छन्। संस्थाको सचिवालयमा सम्पन्न निर्वाचनबाट शाहीको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको हो।
निर्वाचनबाट वरिष्ठ कार्यकारिणी उपाध्यक्षमा प्रवेश दुलाल तथा कार्यकारिणी उपाध्यक्षमा सिर्जना थापा र गौरव कर्ण निर्वाचित भएका छन्। त्यसैगरी तालिम निर्देशकमा सबिन अधिकारी चयन भएका छन्।
उपाध्यक्ष पदमा हेमन्त रजक, रोशनी प्रधान, पंकज मेहता र प्रविण दाहाल चयन भएका छन् भने जनसम्पर्क अधिकारीमा निर्मल सापकोटा निर्वाचित भएका छन्। निर्वाचन आयुक्त प्रीतेशराज दाहालले निर्वाचनको परिणाम सार्वजनिक गरेका हुन्।
नवनिर्वाचित अध्यक्ष शाहीले आफ्नो नेतृत्व कुनै एक व्यक्ति वा समूहमा सीमित नभई सम्पूर्ण सदस्यहरूको साझा नेतृत्व हुने बताएका छन्। उनले सबै सदस्यको क्षमता, अनुभव र विचारलाई समेट्दै संस्थाको गरिमा र प्रतिष्ठा अभिवृद्धि गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
शाहीले आफ्नो कार्यकालमा युवा नेतृत्व विकास, प्रभावकारी तालिम सञ्चालन, सामाजिक सेवा तथा संस्थागत सुदृढीकरणलाई प्राथमिकतामा राख्ने बताएका छन्।
युवा नेतृत्व, व्यक्तित्व विकास र सामाजिक रूपान्तरणमा सक्रिय विराटनगर जेसीजले नयाँ नेतृत्व पाएसँगै आगामी कार्यकालमा युवा सशक्तीकरण, नेतृत्व क्षमता अभिवृद्धि तथा सामाजिक उत्तरदायित्वका क्षेत्रमा थप प्रभावकारी काम गर्ने अपेक्षा गरिएको छ।
नवनिर्वाचित कार्यसमितिका लागि संस्थाको गौरवपूर्ण विरासतलाई निरन्तरता दिँदै नयाँ योजना र कार्यक्रममार्फत संस्थालाई थप सक्रिय, एकताबद्ध र परिणाममुखी बनाउने अवसर र चुनौती दुवै रहेको छ।