रणभूमी सम्वाददाता सोमबार, आश्विन १९, २०८३
काठमाडौं । सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) वंशीराज दाहाल निलम्बित भएका छन्। सुरक्षासँग सम्बन्धित संवेदनशील सूचना चुहावट तथा पदीय आचरणविपरीत कार्य गरेको आरोपमा गृह मन्त्रालयले उनलाई निलम्बन गरेको हो।
गृह मन्त्रालयले सोमबार जारी गरेको विज्ञप्तिअनुसार दाहालमाथि कारबाही गर्न सशस्त्र प्रहरी बल, नेपालबाट सिफारिस प्राप्त भएपछि मन्त्रालयले उक्त विषयमा छानबिन अघि बढाएको हो।
मन्त्रालयको सोमबारको निर्णयअनुसार दाहाललाई निलम्बन गर्दै उनीमाथि लागेको आरोप तथा पदीय आचरणसम्बन्धी विषयमा जाँचबुझ गर्न जाँचबुझ अधिकृतसमेत तोकिएको छ।
तोकिएका जाँचबुझ अधिकृतले तीन दिनभित्र जाँचबुझ सम्पन्न गरी त्यसको प्रतिवेदन गृह मन्त्रालयमा पेस गर्नुपर्ने व्यवस्था गरिएको मन्त्रालयले जनाएको छ।
दाहालमाथि सुरक्षासँग सम्बन्धित संवेदनशील सूचना चुहावट गरेको तथा पदीय आचरणविपरीत कार्य गरेको आरोपमा कारबाहीको सिफारिस गरिएको थियो। यद्यपि, उनीमाथि लागेको आरोपको अन्तिम टुंगो जाँचबुझबाट प्राप्त हुने प्रतिवेदन तथा त्यसका आधारमा अघि बढ्ने कानुनी प्रक्रियाबाट लाग्नेछ।
गृह मन्त्रालयले शान्ति, सुरक्षा तथा राज्यका संवेदनशील सूचनाको संरक्षणलाई प्राथमिकतामा राख्दै मन्त्रालय मातहतका कर्मचारीबाट हुने पदीय आचरणविपरीतका गतिविधि, संवेदनशील तथा गोप्य सूचनाको चुहावट र शान्ति सुरक्षामा प्रतिकूल असर पार्न सक्ने गतिविधिमाथि सूक्ष्म निगरानी तथा विश्लेषण भइरहेको जनाएको छ।
मन्त्रालयले कानुनविपरीत हुने हरेक गतिविधि तथा घटनामा प्रचलित कानुनबमोजिम कारबाही गरिने उल्लेख गर्दै विधिको शासन, कानुनको पालना तथा सार्वजनिक शान्ति सुरक्षाको संरक्षणप्रति आफ्नो प्रतिबद्धता दोहोर्याएको छ।