रणभूमी सम्वाददाता शुक्रबार, मंसिर १२, २०८३
विराटनगर। लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियानअन्तर्गत विराटनगर–१६ स्थित श्री मिल्स माध्यमिक विद्यालयमा विद्यार्थी लक्षित सचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ।
नव अभियान नेपाल, विराटनगर शाखा र इलाका प्रहरी कार्यालय रानीको संयुक्त आयोजनामा बिहीबार सम्पन्न कार्यक्रममा कक्षा १० र ११ मा अध्ययनरत ११९ जना विद्यार्थी सहभागी भएका थिए।
कार्यक्रममा लैङ्गिक हिंसा, बाल यौन दुर्व्यवहार, सुरक्षित तथा असुरक्षित स्पर्श (गुड टच–ब्याड टच) र मानव बेचबिखनबाट बच्ने उपायबारे विद्यार्थीलाई जानकारी दिइएको थियो।
विद्यार्थीलाई लैङ्गिक हिंसाको पहिचान गर्ने, व्यक्तिगत सुरक्षामा ध्यान दिने, हिंसा तथा दुर्व्यवहारविरुद्ध आवाज उठाउने र जोखिमपूर्ण अवस्थाबाट जोगिने उपायबारे प्रशिक्षण दिइएको आयोजकले जनाएको छ।
त्यसैगरी हिंसा तथा दुर्व्यवहारबाट प्रभावित व्यक्तिलाई दोषारोपण नगरी सहयोग गर्नुपर्ने र आवश्यक परेको अवस्थामा विश्वासिलो व्यक्ति तथा सम्बन्धित निकायसँग सहायता लिनुपर्ने विषयमा समेत सचेत गराइएको थियो।
कार्यक्रममा सामुदायिक सेवा केन्द्र रानीका सचिव अर्जुनकुमार क्षेत्री, इलाका प्रहरी कार्यालय रानीको महिला तथा ज्येष्ठ नागरिक शाखाकी प्रहरी हवल्दार मीना बिष्ट र विद्यालयका प्रधानाध्यापक बिन्दुकुमार लावतीको उपस्थिति रहेको थियो।
विद्यार्थीमा लैङ्गिक हिंसाविरुद्ध सचेतना अभिवृद्धि गर्दै सुरक्षित, सम्मानजनक तथा हिंसामुक्त समाज निर्माणमा योगदान पुर्याउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको आयोजकले जनाएको छ।