०७ बैशाख २०८१, शुक्रबार
Tags

माटोले पुरिएको अवस्थामा मानव कंकाल फेला

Ranbhumi शुक्रबार, चैत्र १३, २०७७

महोत्तरी / पिपरा गाउँपालिका वडा नम्बर–२ स्थित अत्तरा जाने बाटोमा माटोले पुरिएको अवस्थामा मानव कंकाल फेला परेको छ । टुक्राटुक्रा गरिएको अवस्थामा लाशको कंकाल भेटेको हो । होलीका लागि घर पोत्न माटो लिन गएका स्थानीयवासीले बिहीबार माटोले पुरेको अवस्थामा बोराभित्र मानव कंकाल फेला पारेका हुन् । घटनास्थलमा पुगेका प्रहरी टोलीले माटो पन्छाएर खोजतलास गरेका हुन ।

माँ ये माँ हमरा सभकेँ छोडि़ कऽ कतए चलि गेलहुँ ये माँ, हमरसभक सहारा के बनतै ये माँ, आब हमर बौवाके के पढा देतै ये माँ’ ( आमा ए आमा हामीलाई छोडेर कहाँ जानुभयो, अब हाम्रो सहारा को बन्छ आमा, हाम्रा छोराछोरीलाई कसले पढाई दिन्छ आमा) यो बिलौना थियो मृत दम्पत्ति मुसाफिर झा र गीतादेवीकी जेठी बुहारी करिब ३३ वर्षीया सञ्जु झाको ।

गत फागुन १० गते रातिदेखि सासु गीता र ससुरा मुसाफिर बेपत्ता भएदेखि परिवार नै शोकमा डुबेको बेला बिहीबार दिउँसो उनीहरु दुबै जनाको शव विभत्स अवस्थामा भेटिएपछि सञ्जुको अवस्था सम्हालिनु नसक्नु भएको हो ।

४ वर्ष अघि मात्रै श्रीमान् पंकज झालाई गुमाएकी सञ्जु र उनको तीन सन्तानका जिम्मेवारी मुसाफिर र गीतादेवीले नै सम्हाल्दै आएका थिए ।

सञ्जुले बताए अनुसार सासु गीतादेवी बेपत्ता हुनुभन्दा एक दिन अगाडी मात्रै ६ वर्षीय नाति युवराज झालाई पढाएर ठुलो मान्छे बनाउने भन्दै जनकपुरधामको एक निजि विद्यालयमा नामांकन गराएर एक महिनाको मासिक शुल्क समेत भुक्तानी गरेर आएकी थिईन् ।

‘छोराको मृत्यु पछि बुहारी र आफ्नो सहाराको रुपमा नाति नै हुनेछ भन्दै आमाले बाबुको राम्रो पढाईका लागि एक दिन पहिले मात्र न्यु ईंग्लिश बोर्डिंग स्कुलमा नाम लेखाएर आउनु भएको थियो ।’

भावविह्ल हुँदै सञ्जुले भनिन् ‘अब मेरो र मेरा सन्तानको सहारा को बनिदिने, कसलाई मैले आफ्ना सुखदुख साट्ने ।’

स्थानीयहरुका अनुसार सञ्जुका श्रीमान् पंकज अत्याधिक मादक पदार्थ गर्ने गरेका थिए ।

जसले गर्दा उनको घरमा बारम्बार पारिवारिकि कलह हुने गर्दथ्यो ।

करिब चार वर्ष पहिले पनि घरमा उनले मदिरा सेवन गर्ने विषयमा नै झगडा भएपछि पंकजले आत्महत्या गरेका थिए ।

त्यसयता सञ्जु र उनका ३ सन्तानलाई उनै सासु ससुराले लालनपालन गर्दै आएका थिए ।

मृतक झा दम्पत्तिका कान्छा छोरा ३० वर्षीय मनिष झा र २७ वर्षीया बुहारी उषा झाको अवस्था पनि सञ्जुभन्दा कम छैन् ।

मनिष केही बोल्न सक्ने अवस्थामा छैनन् भने उनकी श्रीमति (कान्छी बुहारी) उषा झा त झन् सासु ससुराको हत्यालाई स्वीकार्न सकिरहेकी छैनन् ।

प्रहरीले बिहीबार बिहानै परिवारजनलाई महोत्तरीको पिपरा गाउँपालिका वडा नम्बर २ अतरारमा निर्माण भई रहेको सडक खण्डमा शव भेटिएको भन्ने जानकारी गराएदेखि नै भावविह्ल बनेकी उनी घरका सदस्यले बरामद भएको शवलाई सनाखत गरेपछि बर्बराउँदै छिन छिनमा मुर्छा पर्ने गरेकी छिन् ।

मृतक झा दम्पत्तिका छोरी बेबी झाका अनुसार आज भेटिएको शवमा आमा गीतादेवीले लगाएको हरियो रंगको साड़ी, हाथमा लगाएको लहठी, बुवा मुसाफिरले लगाएका भेष्ट सहितका सामानहरु मिलि सकेकाले उनीहरुकै शव रहेको पुष्टी भईसकेको छ ।

छोरी बेबीले बताए अनुसार शव हेर्दा शरीरको अन्य भागमा मासु रहेपनि टाउकोमा भने हाड बाहेक केही थिएन् ।

‘आमाले लगाउनुभएको साड़ी, उहाँको लहठी सबै त्यही थियो ।’

उनले भनिन् ‘यति मात्रै होईन् अर्को शव भेट्दा बुवाले लगाएको भेष्ट समेत भेटिएको हो ।’

शवको प्रकृति हेर्दा झा दम्पत्ती बेपत्ता भएको महिना दिन बिति सक्दा पनि उक्त ठाउँमा भने केही दिन पहिला मात्रै शवलाई राखिएको स्थानीयहरु बताउँछन् ।

यहाँ कमेन्ट गर्नुहोस्