रणभूमी सम्वाददाता सोमबार, आश्विन १९, २०८३
विराटनगर । मोरङको विराटनगर महानगरपालिका–१६ दक्षिण गेटबाट प्रहरीले लागूऔषध खैरो हेरोइनजस्तो देखिने पदार्थसहित दुई जनालाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार २०८३ असोज १८ गते इलाका प्रहरी कार्यालय रानी र लागूऔषध नियन्त्रण ब्युरो विराटनगरबाट खटिएको संयुक्त प्रहरी टोलीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका दुई जनालाई शंकास्पद अवस्थामा चेकजाँच गरेको थियो।
चेकजाँचका क्रममा मोरङको केराबारी गाउँपालिका–६ बस्ने २१ वर्षीय सुशान्त विक र सोही स्थान बस्ने २० वर्षीय निर्मल तामाङलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार सुशान्त विकको साथबाट लागूऔषध खैरो हेरोइनजस्तो देखिने पदार्थ ४.९० ग्राम फेला परेको थियो।
बरामद पदार्थसहित दुवै जनालाई नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय रानीमा ल्याई थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ।