०८ बैशाख २०८१, शनिबार
Tags

अंश विवादका कारण छोराको कुटाई बाट बुवाको मृत्यु

रणभूमी डेस्क शुक्रबार, बैशाख ०२, २०७९

बिराटनगर / मोरङको बेलबारीमा छोराले वृद्ध बाबुको हत्या गरेका छन् । जग्गा अंशवण्डाको विवादलाई लिएर बिहीबार दिउँसो छोराले वृद्ध बाबुको हत्या गरेका हुन् ।

बेलबारी नगरपालिका वडा नम्बर ७ काफ्ले टोलका ३१ वर्षीय बासुदेव कार्कीले ६२ वर्षीय बुवा जयबहादुर कार्कीको हत्या गरेको मोरङ प्रहरीका प्रवक्ता डीएसपी दीपक श्रेष्ठले बताए । डीएसपी श्रेष्ठकाअनुसार अंशको विषयलाई लिएर बासुदेव र उनका भाइ २८ वर्षीय तीर्थराज कार्कीबीच झगडा भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।
दाजु–भाइको झगडा छुट्याउन गएका बेला बासुदेवले बुवा जयबहादुरको हत्या गरेको डीएसपी श्रेष्ठले बताए । उनकाअनुसार झगडा छुट्याउन खोज्दा बासुदेवले दिउँसो १२:३० बजेतिर बुवालाई कुटपिट गर्नुका साथै ढुंगा बिछ्याएको आँगनमा पछारिदिएका थिए।
छोराले आँगनमा पछारेपछि गम्भीर घाइते भएका जयबहादुरको उपचारका क्रममा विराटनगरको विराट नर्सिङ होम एवं विराटनगर अस्पतालमा दिउँसो ३:३० बजेतिर मृत्यु भएको प्रहरीले जनाएको छ। वैदेशिक रोजगारीमा गएका तीर्थराज भने केही दिनअघि मात्रै दुबईबाट घर फर्किएका हुन् । बासुदेव भने परिवारबाट अलग भएर डेढ महिनाअघिदेखि सुनसरीको इटहरीमा बस्दै आएको खुलेको छ।
बासुदेवले आमा ५८ वर्षीया उमादेवी कार्कीमाथि समेत कुटपिट गरेको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार छोराको कुटपिटबाट उमादेवीको अनुहार र टाउकोमा चोट लागेको छ ।

कार्की परिवारमा केही समयदेखि जग्गा अंशवण्डासम्बन्धी विवाद रहेको स्थानीयले बताएका छन्। उनीहरुकाअनुसार बुवाले दाजु–भाइलाई जग्गा छुट्याइदिए पनि पास गर्न बाँकी रहेको र त्यही विषयलाई लिएर भएको झगडा हत्यामा परिणत हुन पुगेको हो।
प्रहरीले बाबुको हत्यामा संलग्न अभियोगमा बासुदेवलाई पक्राउ गरेको छ। उनका भाइ तीर्थराजलाई पनि नियन्त्रणमा लिएर घटनाको अनुसन्धान सुरु गरिएको डीएसपी श्रेष्ठले बताए।

यहाँ कमेन्ट गर्नुहोस्