१५ बैशाख २०८१, शनिबार
Tags

स्थानिय चुनाव लक्षित नेपाल भारत सीमा समन्वय बैठक विरटचौकमा सम्पन्न

रणभूमी डेस्क शुक्रबार, बैशाख २३, २०७९

विराटनगर / मोरङको सुन्दरहरैँचा नगरपालिका अन्तर्गत नेपालीरिका होटलमा नेपाल–भारत जिल्ला सीमा समन्वय बैठक बिहीबार सम्पन्‍न भएको छ ।

मोरङका प्रमुख जिल्ला अधिकारी काशीराज दाहालको अध्यक्षतामा बसेको बैठकमा सुनसरीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादव, सुनसरीका प्रहरी उपरीक्षक सञ्जयसिंह थापा, मोरङका प्रहरी उपरीक्षक शान्तिराज कोइराला र भारत अररिया जिल्लाका डिएम प्रशान्तकुमार सिएचसहित भारतीय प्रहरी अधिकृतको उपस्थितिमा बैठक बसेको थियो ।

बैशाख ३० गते नेपालमा हुन गइरहेको स्थानीय तहको निर्वाचनका सन्दर्भमा भएको बैठकमा निर्वाचन अघि ७२ घण्टा सीमा बन्द गर्ने, तस्करी नियन्त्रण र संयुक्तरूपमा सीमा गस्ती परिचालनका विषयमा विस्तृत छलफल भएको मोरङका प्रमुख जिल्ला अधिकारी दाहालले जानकारी दिए ।

उनका अनुसार निर्वाचनमा कुनै पनि किसिमको आपराधिक घटना हुन नदिन, खुला सीमाका कारण नेपालमा हुनसक्ने आपराधिक घटनालाई रोक्न, निर्वाचन भयरहित, स्वच्छ, स्वतन्त्र एवं पारदर्शीरूपमा सम्पन्न गर्न भारतीय सुरक्षा अधिकारीसँग छलफल गर्न बैठक आयोजना भएको र यसमा दुवै देशका सुरक्षा निकायले इमान्दारीपूर्वक आफ्नो कर्तव्य निर्वाह गर्ने प्रतिबद्धता जाहेर भएको जानकारी दिए ।

भारत बाट आउनुभएका अररिया जिल्लाका डिएम प्रशान्तकुमार सिएचलाई जिल्ला प्रशासन कार्यालय मोरङका सहायक प्रमुख जिल्ला अधिकारी र सशस्त्र प्रहरी बल बिओपी रानीको टोलीले स्वागत गरेका थिए ।

यहाँ कमेन्ट गर्नुहोस्