१४ बैशाख २०८१, शुक्रबार
Tags

मोरङ्ग व्यापार संघद्वारा भारतीय रेल्वे प्रबन्धकसँग भेट गरी सुझाव पत्र प्रस्तुत

रणभूमी डेस्क मंगलबार, भाद्र २१, २०७९

विराटनगर / मोरंग व्यापार संघको टोलीले भारतको जोगबनी आउनुभएका कटिहार रेल्वे विभागका विभागीय रेल्वे प्रबन्धक (डिभिजनल रेल्वे मेनेजर) कर्नल एस.के.चौधरीलाई भेट गरी रेल्वे सहजीकरणबारे विभिन्न सुझावहरु पेश गरेको छ ।

मोरंग व्यापार संघका अध्यक्ष श्री नवीन रिजालको नेतृत्वमा संघका वरिष्ठ उपाध्यक्ष श्री अनुपम राठी, का.का. सदस्य श्री अमित सारडा र श्री मनिष मारु सहितको टोली जोगबनी गई जोगबनी र विराटनगरका रेल्वेका सम्बन्धमा विभिन्न विषयहरु समेटी सुझाव प्रस्तुत गरेको थियो ।

अध्यक्ष रिजालले मुलुकको प्रथम उद्योग वाणिज्य संघ ‘मोरंग व्यापार संघ’ को तर्फबाट विभागीय रेल्वे प्रबन्धक चौधरीलाई नेपालको दोश्रो ठूलो प्रवेश विन्दु, जोगबनी–विराटनगर नाकामा स्वागत गर्नु भई आफ्नो संघ भारतको पटनाका कमिश्नरद्वारा गठित भन्सार जाँचपास सहजीकरण समिति (सि.सि.एफ.सी.)को समेत सदस्य रहेको जानकारी गराउनु भएको थियो । साथै, अध्यक्ष रिजालले भारत र नेपालबीच सहज आवागमनका लागि संघले निरन्तर सहजीकरण गर्दै आएको बताउँदै विगतमा संघले कटिहार–जोगबनी ब्रोड गेज रेल्वे रुपान्तरण, जोगबनी रेल्वे यार्ड निर्माण सहित कटिहार, बथनाहा, जोगबनी र विराटनगरका आईसीपी लगायतका रेल्वे पूर्वाधारहरु निर्माणका लागि समेत नर्थ फ्रन्टाईर रेल्वे, कटिहार डिभिजनसँग नजिकबाट सहकार्य गर्दै आएको स्मरण गराएका थिए ।

त्यसका साथै अध्यक्ष रिजालले जोगबनी–विराटनगर सीमा क्षेत्रका नागरिक र व्यवसायीक समुदायलाई लक्षित गरी भारतीय रेल्वेलाई थप सुविधायुक्त बनाउन आग्रह गर्दै जिर्ण अवस्थामा रहेको जोगबनी रेल्वे स्टेशनको गुड्स यार्डको जिर्णोद्वार गरिनु पर्ने, उक्त रेल्वे गुड्स यार्डको कार्य समय विहान ६ बजेदेखि बेलुकी १० बजेसम्मका लागि कायम गरिनु पर्ने, कोलकाता बन्दरगाहदेखि जोगबनी रेल्वे स्टेशन र पछि आई.सी.पी., जोगबनीसम्मका लागि कन्टेनराईज्ड कार्गोलाई नियमित रुपमा संचालन गरिनु पर्ने, जोगबनी देखि दक्षिण भारतका बैंगलोर, पश्चिम भारतका मुम्बई÷पुणे लगायतका स्थानहरु सम्मका सीधा रेल्वे सेवा संचालन गरिनु पर्ने, दिल्ली सम्मका लागि थप रेल संचालन गरिनु पर्ने, दरभंगाका विमानस्थल, चिकित्सा सेवा तथा व्यवसायिक सेवाहरुको सहज उपयोग गर्न जोगबनी–दरभंगा इन्टरसीटी रेल सेवा संचालनमा ल्याउनु पर्ने, भारतीय रेलमा नेपाली ज्येष्ठ नागरिकहरुलाई भारतीय ज्येष्ठ नागरिक सरह व्यवहार गरिनु पर्ने, भि.आई.पी सिट झैं आपतकालिन सिटहरुको पनि व्यवस्था गरिनु पर्ने, अन्तर्राष्ट्रिय उडान मार्फत भारत आउने नेपालीहरुलाई तत्कालै रेल्वे टिकट उपलब्ध गराउने व्यवस्था गरिनु पर्ने, रेल्वे सहजीकरण सम्बन्धी विषयहरु प्रभावकारी रुपले प्रस्तुत गर्न सकिने गरी संघलाई भारतीय रेल्वेको जे.आर.यु.सी.सी., डि.आर.यु.सी.सी. जस्ता सदस्यता प्रदान गरिनु पर्ने आदि सुझावहरु प्रस्तुत गरेका थिए ।

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित