रणभूमी सम्वाददाता शनिबार, भाद्र ०६, २०८३
विराटनगर / सशस्त्र प्रहरी बल, नेपाल नं. ३ गण हेडक्वार्टर कंकालिनी मोरङ र एपीएफ फिल्ड अस्पताल पकली सुनसरीको आयोजनामा मोरङको बूढीगंगा गाउँपालिका–३ स्थित नगर अस्पताल परिसरमा स्वास्थ्य शिविर तथा सचेतनामूलक कार्यक्रम सञ्चालन गरिएको छ।
बूढीगंगा गाउँपालिका–३ मा रहेको नगर अस्पतालको सहकार्यमा भदौ ६ गते स्थानीय बासिन्दालाई लक्षित गरी आयोजित शिविरमा स्वास्थ्य परीक्षण, बीएमआई (BMI) परीक्षण तथा विभिन्न स्वास्थ्यसम्बन्धी सचेतनामूलक कार्यक्रम सञ्चालन गरिएको थियो।
उक्त स्वास्थ्य शिविरबाट स्थानीय ११३ जना लाभान्वित भएका छन्। शिविरमार्फत स्थानीय बासिन्दालाई स्वास्थ्यप्रति सचेत गराउँदै नियमित स्वास्थ्य परीक्षणको महत्वबारे जानकारीसमेत दिइएको सशस्त्र प्रहरीले जनाएको छ।
यसैगरी, ‘सीमावासीसँग सशस्त्र प्रहरी’ कार्यक्रमअन्तर्गत स्थानीय नागरिकलाई सीपमूलक तालिमसमेत प्रदान गरिएको छ। सशस्त्र प्रहरी बल, नेपाल नं. ३ गण हेडक्वार्टर कंकालिनी मोरङमा साउन ३१ गतेदेखि भदौ ६ गतेसम्म सञ्चालन गरिएको सात कार्यदिने वेल्डिङ तालिममा १३ जना स्थानीय नागरिक सहभागी भएका थिए।
तालिम सम्पन्न भएसँगै सहभागीलाई वेल्डिङसम्बन्धी आधारभूत सीप प्रदान गरिएको सशस्त्र प्रहरीले जनाएको छ। स्थानीय नागरिकसँगको सम्बन्ध थप सुदृढ गर्दै उनीहरूलाई स्वास्थ्य सेवा तथा व्यावसायिक सीप उपलब्ध गराउने उद्देश्यले यस्ता कार्यक्रम सञ्चालन गरिएको जनाइएको छ।