०७ बैशाख २०८१, शुक्रबार
Tags

सिसी टिभी क्यामेरामा देखिएको जुत्तालाई पछ्याउँदै मोरङ्ग प्रहरीले समायो चोर

अनुज सापकोटा शुक्रबार, माघ १३, २०७९

आधुनिकताको प्रभावमा डिजिटल लतको कारण विभिन्न खाले शौख र कुलतमा आजका युवा युवती फस्दै गएको देखिन्छ ।

छोटो बाटोबाट आय आर्जन गर्नका लागि अपराधको दलदलमा युवा युवती भासिँदै गएको कटहरीको एक घटनाले पुष्टि गरेको छ। प्रहरीले कलेजमा प्लस २ पढ्दा पढ्दै चोरीको कार्यमा संलग्न दुई विद्यार्थीलाई पक्राउ गरेको छ।

माघ ८ गते कटहरी-३ को सहनी टोलबाट सिटी सफारी चोरी गरी चमराई चोक पुऱ्याएर सो सफारीबाट ४ थान ब्याट्री झिकिएको अवस्थामा फेला परेको उजुरी कटहरी प्रहरी चौकीमा माघ ९ गते विहान पर्यो ।

सिटीनं. प्र.१/०४/००१ ह/००२९ नंको सिटी सफारीबाट ४ थान ब्याट्री चोरेको उजुरी सिटी चालक वीरेन्द्र पासवानले कटहरी प्रहरी चौकीमा उजुरी दिएका थिए । उजुरी प्राप्त भएसंगै असई शिवप्रसाद निरौलाको कमाण्डमा प्रहरी परिचालित भयो ।

चमराई चोकको मन्दिरमा राखिएको सीसीटिभी क्यामेराको फुटेज अनुसार ब्याट्री चोरीमा संलग्न एक जनाको खुट्टाको दृष्य क्यामेरामा कैद भयो। खुट्टामा सेतो रङ्गको जुत्ता थियो ।

कटहरी प्रहरीले ९ माघमा साँझ पर्न साथ सडकमा मोटरसाइकलमा सेतो रङ्गको जुत्ता लगाएका मोटरसाइकल सवारको सवारी जाँच्ने, खानतलासी लिने र सोधपुछ गर्ने काम गरेको थियो भने कटहरी चोकमा राखिएको क्यामेराबाट कटहरी प्रहरीले सडकमा कुद्ने मोटरसाइकल, गाडीमाथि चौकीमा बसेर मनिटरबाट निगरानी गरिनै राखेको थियो। तर चोर समातिन सकेको थिएन। प्रहरीलाई चोर जसरी भएपनि पक्रनु थियो ।

निराश बन्दै गएका कटहरी चौकीका प्रहरी त्यसबेला सर्तक भए जब सोही रात ११ बजेर १० मिनेटमा दुई मोटरसाइकल विराटनगरतर्फको बाटोबाट कटहरी चोक हुँदै पूर्वतर्फ लागेको देखियो । मोटरसाइकल सवारमध्ये एक जनाले सेतो रङ्गको जुत्ता लगाएको पनि स्पष्ट देखिएपछि असई निरौला मोटरसाइकलको पिछा लागे ।

पिछा गरेको देखेपछि एउटा मोटरसाइकल बाटोमा पछारियो र प्रहरीले संघर्ष गरी मोटरसाइकल सवार दुई जनालाई पक्राउ गर्न सफल भयो। अर्को मोटरसाइकल सवार २ जना भने भाग्न सफल भए। पक्राउमा परेका दुईमध्ये एक जनाको खुट्टामा भने सेतो जुत्ता थियो ।

प्रहरीले केरकार गर्दा तिनीहरूको नाम अमित मण्डल र रोहित मण्डल रहेको खुलेको थियो । ती दुईले आफूहरू चार जनाको समूह बनाएर महिनौं अघिदेखि चोरी धन्दामा सक्रिय भएको प्रहरी समक्ष स्वीकार गरेका थिए ।

अमित र रोहित एक कलेजमा कक्षा ११ मा अध्ययनरत युवा भएको खुलेको छ। अमितका दाजु पर्ने रोशन मण्डल र विशाल सिंह भने फरार छन् । अमित र रोहित विराटनगर-८ मा कोठा भाडामा लिएर बस्ने गरेका थिए । दिनभरी कोठामा बस्ने र रात परेपछि अपराध गर्न निस्कने उनीहरूको नियम नै थियो ।

जिल्ला प्रहरी कार्यालय मोरङका इन्सपेक्टर मोहन पोखरेलले कटहरीमा चोरीमा संलग्न दुई जनालाई पक्राउ गरी अदालतबाट म्याद लिएर अनुसन्धान जारी राखेको बताए ।

हामीले निरौलासंग जिज्ञासा राख्दा उनले उजुरी परेकै रात संगठित रूपमा चोरी गर्न निस्कने समूहका दुई जनालाई आफ्नो नेतृत्वको टीमले पक्राउ गर्न सफल भएको बताए । निरौलाले भने,’ हामी राष्ट्रसेवक हौं ।

हाम्रो दायित्व समाजमा अपराध न्यून गर्दै शान्तिसुरक्षा कायम गर्नु हो। तर अभिभावकले आफ्नो छोराछोरी कुन बाटोतर्फ उन्मुख भएका छन् त्यसकुराको हेक्का राख्नु पर्छ ।’

आजको न्यू सृष्टी दैनक बाट

यहाँ कमेन्ट गर्नुहोस्