१८ बैशाख २०८१, मंगलबार
Tags

बिहारमा रेल्वे लिकमा बम विष्फोट प्रकरणमा संलग्न देखिएका दुई नेपाली ‘आतंकवादी’ पुष्टि

उकेरा बुधबार, मंसिर २०, २०८०

काठमाडौँ / नेपालमा बसेर पाकिस्तानी खुफिया एजेन्सीसँग मिलेर भारतविरुद्ध अपराध गरेको आरोप यति धेरैलाई लाग्दै आएको छ कि गम्भीर आरोप पनि जोक समान बनिसक्यो। कसैलाई केही ट्याग लगाउन नसके आइएसआइको मान्छे भनिदिनु सामान्य आरोप समान बनिसक्यो नेपालमा।

तर सबै आरोप मिथ्या हुन्नन्। केहीका हकमा यो पुष्टि भए पनि आतंकवाद गतिविधिमा संलग्न रहेको अदालतबाटै विरलै पुष्टि भएका छन्। विशेष अदालतले दुई नेपाली नागरिकको हकमा यस्तै विरलै हुने फैसला गरेको छ।

विशेष अदालतका विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर तथा सदस्य मुरारीबाबु श्रेष्ठ र रितेन्द्रबाबु थापाको मंगलबारको संयुक्त इजलासले समसुल होदा र गिरी बाबा भन्ने वृजकिशोर गिरी आतंकवाद गतिविधिमा लगानी गरेको ठहर गरेको छ।

उनीहरूमाथि सम्पत्ति शुद्धीकरण विभागले अनुसन्धान गरेर विशेषमा मुद्दा दायर गरेको थियो। विभागको दाबी अनुसार अदालतले यी दुवैले आतंकवादी गतिविधिमा लगानी गरेको पुष्टि गरे पनि सजाय भने सुनाएको छैन। आगामी सुनुवाइमा यी दुबै विरुद्ध सजाय निर्धारण हुनेछ।

त्यति नाम नसुनिएका समसुल होदा कलैयाका भए पनि उनी दुबइमा बस्दै आएका थिए। उनले पाकिस्तानी नागरिकसँग मिलेर भारतविरुद्ध आतंकवादी योजना बनाएका थिए।

उनले नेपाली र भारतीय युवालाई संगठित बनाएर नेपालमा बसेर भारत विहारको रेल्वे ट्रयाकमा बम विस्फोट गराउने योजना बनाएका थिए। योजनाअनुसार बम पनि राखियो तर प्राविधिक गडबडीले बम पड्किएन। योजना बनाउनका लागि उनलाई पाकिस्तानबाट पैसा आउँथ्यो अनि उनी दुबइमा बसेर नेपालमा रहेको समूहलाई पैसा पठाउँथे।

बम पड्काउने योजना असफल भएपछि योजनामा संलग्न दुई भारतीय नागरिकको हत्या गराए। प्रहरीले जङ्गलमा दुई युवाको शव फेला पारेपछि अनुसन्धान गर्दैजाँदा कनेक्सन होदासम्म पुगेको थियो।

जङ्गलमा फेला परेको शवको आतंकवाद कनेक्सन

घटना २०७३ पुस १३ को हो। बाराको जङ्गलमा प्रहरीले दुई युवाको शव फेला पर्यो। अनुसन्धान गर्दैजाँदा ती दुवै भारतीय नागरिक दीपक राम र अरुण राम भएको खुल्यो। अनि यो हत्यामा जोडिए उमेशकुमार पटेल र कलैया बरेवाका मोजाहिर अन्सारी। यी दुवै पक्राउ परे।

महिलाको भेषमा ससुरालीमा भेटिए

उनीहरूले योजनाकारको रूपमा सिमराका बृजकिशोर गिरीको नाम लिए। प्रहरी गिरीको खोजीमा लाग्यो। फेला परेनन्। उनी बिजबनिया वडा नम्बर ७ मा रहेको अजय गिरीको घरमा लुकेर बसेको सूचनाको आधारमा प्रहरी २४ गते टोलमा पुग्यो।

प्रहरी टोलीमाथि आक्रमण भयो। प्रहरीले ६ राउन्ड गोली चलायो। एक महिला घरमा भाग्दै निस्किइन्। शंका लागेर प्रहरीले खुट्टामा गोली हानेर नियन्त्रणमा लिँदा उनी गिरी रहेको खुल्यो। उनलाई समेत गोली लागेको थियो। काठमाडौँको शिक्षण अस्पतालमा उनको उपचार गरियो।

हत्या गएर आतंकवादसँग जोडिइसकेको थियो। यी दुवै युवालाई भारतबाट नेपाल ल्याएर आतंकवादी गतिविधिमा लगाएका थिए। योजना अनुसार बिहारको रेल्वे ट्रयाकमा बम पड्काएर ठुलो दुर्घटना गराउने थियो। उनीहरूले प्रेसर कुकर बम पनि राखेका थिए। तर पड्किएन। अनि पोल खुल्ने डरले दुवै भारतीय नागरिकको हत्या गरेर जङ्गलमा शव फाले।

हत्या आतंकवादसँग जोडिएपछि नेपालमा विशेष ब्युरो अनि उता भारतमा पनि स्पेसल टाक्स फोर्सले अनुसन्धान सुरु गरेको थियो। नेपालमा तीन जना पक्राउ परे भने उता भारतमा मोती पासवान, उमाशंकर पटेल र मुकेश यादव पक्राउ परेका थिए।

भारतमा पक्राउ परेकाहरूबाट भारतको सिम्रौनगढ घोडासन र आदापुर नकरदेहीमा रहेको रेल्वे लिकमा विस्फोटको योजना अनुसार बम राखिएको तर प्रेसरकुकर बममा राम्रोसँग तार नजोडिँदा नपड्किएको खुलेपछि प्रहरी यो घटनाको मुख्य योजनाकारको खोजीमा लाग्यो। यी सबै घटनाको योजना दुबईमा बनेको र मास्टरमाइन्ड दुबइमा रहेका नेपाली नागरिक समसुल होदा देखिए।

मलेसियामा आतंकवाद कनेक्सन

अनुसन्धानमा होदाले गिरीलाई पैसा दिएर दुबई गएको खुल्यो। यता गिरीले उनले भारतीय र नेपाली मिलाएर समूह बनाएर रेल्वे ट्रयाकमा बम पड्काउन तीन लाख भारतीय रुपैयाँ दिएको खुल्यो। पहिलो योजना सफल नभए पनि उनले पुन दोस्रो पटक रेल्वे ट्रयाकमा बम पड्काउने योजना बनाए। तर भारतीय नागरिकले मानेनन् अनि हत्या गरे।

भारतीय सुरक्षा एजेन्सीले होदालाई पाकिस्तानी खुफिया एजेन्सीसँग जोडेर भारतविरुद्ध आतंकवादी गतिविधिमा संलग्न रहेको दाबी गर्दै आएको थियो। यता आतंकवाद सम्बन्धी अनुसन्धान गर्ने विशेष ब्युरोले पनि उनलाई निगरानीमा राखेको थियो। तर पक्राउ नै गर्नुपर्ने प्रमाण फेला नपरेकाले पक्राउ गरेको थिएन।

उनको भ्रमणबारे अनुसन्धान गर्दा मलेसिया, इराक, अफगानिस्तान देखियो। उनी मलेसिया वैदेशिक रोजगारीकाक्रममा गएका थिए। त्यही बस्दा सम्पर्क भएको पाकिस्तानीहरूसँग मिलेर उनले नक्कली भारतीय रुपैयाँको कारोबार समेत गरे। नक्कली भारु कारोबारका लागि उनी नेपाल फर्किए। राजनीतिमा सक्रिय हुने प्रयासमा लागे तर सफल भएनन्। पछि उनी आतंकवाद गतिविधिमा लागे।

अनुसन्धानमा पाकिस्तानमा रहेका सफी नामका व्यक्तिसँग उनको घनिष्ठ सम्बन्ध देखियो। उनले होदालाई पैसा पठाउने गरेको समेत खुल्यो। होदाले दुबइबाट नेपालमा पैसा पठाउने गरेको समेत पुष्टि भयो।

यता पक्राउ परेकाहरुविरुद्ध प्रहरीले हत्यामा अनुसन्धान अगाडि बढाएको थियो। उता होदा दुबइमै थिए। प्रहरीले होदालाई नेपाल ल्याउने प्रक्रिया अगाडि बढायो। दुबइको सुरक्षा निकायले उनलाई नेपाल डिपोर्ट गरेपछि माघ २५ मा उनी पक्राउ परे। हत्या अभियोगमा उनीसहित चार जना कारागार चलान भएका थिए।

प्रहरीले उनीहरुविरुद्ध सम्पत्ति शुद्धीकरणमा समेत अनुसन्धान गरेर विभागमा पठाएको थियो। विभागले उनीहरूमाथि अनुसन्धान गर्दा पाँच लाख बराबर रकम देखियो। सो रकम आतंकवादी गतिविधिको स्रोत रहेको दाबी गर्दै विशेष अदालतमा विभागले मुद्दा दायर गर्यो। अदालतले विभागको मागदावी अनुसारै फैसला गर्यो।

साभारः ukeraa.com

यहाँ कमेन्ट गर्नुहोस्