१४ बैशाख २०८१, शुक्रबार
Tags

रमजान

मो. अकील काशमी बुधबार, चैत्र ०८, २०७९

रमजान इस्लाम धर्मावलम्बीहरू विशेष चाडहरु मध्येको एक महत्त्वपूर्ण चाड हो ।

रमजान महिना मुसलमानका लागि शुभ-लाभको महिना हो । रमजान महिनालाई कुरानले धेरै ठूलो स्थान दिएको छ । एक महिनासम्म मनाइने यो चाडमा बालबालिका देखिका सबै व्यक्तिहरु अनिवार्य रोजा (व्रत) बस्नुपर्ने हुन्छ । मुसलमानहरूको पाँच महत्त्वपूर्ण कार्य रोजा, नमाज, हज, जकात र फित्तरा नियामानुसार गर्नुपर्ने तथा तिर्नुपर्ने भए पनि हजबाहेक सबै कार्य रमजान महिनामा प्राप्त गर्ने अवसर पाउने भएकाले पनि यो महिनालाई मुसलमानहरूले महत्त्वपूर्ण महिनाका रूपमा लिने गरेका छन् । घाम उदाउनुभन्दा डेढ घण्टाअगावै सरगही (खानेकुरा) खाएर प्रारम्भ गरिने रोजा घाम अस्ताएपछि फलफूल तथा मिठाइ तथा बिशेष (खजुर ) खाएर समाप्त गरिन्छ । यो समयलाई ईफ्तार भन्ने समय भनिन्छ अर्थात् रोजा खोल्ने समय भनिन्छ । दिनभर केही पनि खान नहुने यो पर्वमा मुसलमानहरूले आ-आफ्नो गच्छेअनुसार विभिन्न किसिमका परिकार बनाई रोजा खोल्ने गर्छन् । रोजाको समयमा कुनै पनि खानेकुरा मुखमा हाल्नु हुँदैन, जानेर थुक पनि निल्नु हुँदैन भने अपराह्न सबै मानिसले दतिवन गरी मुख धुने चलन छ । दिनभर केही पनि खान नहुने भएकाले ठूला मानिसहरूले सजिलै रोजा पूरा गरे पनि उमेर नपुगेकाले धेरै कठिनाइ भोग्नु पर्ने हुन्छ । जसले जति कठिनाइ महसुस गर्छ, त्यसले त्यति सवाव (पुन्य) पाउँछ भनेर ठूला मानिसहरूले बालबालिकालाई रोजा बस्न प्रेरित गर्छन् ।

मुसलमानहरूले रोजा अवधिभर नियमित नमाज पढ्छन् भने रातीको नमाजपछि कतिपय मस्जिदहरुमा तरावी नमाज पढ्ने गर्छन् । तरावी नमाज मुसलमानहरूको विशेष प्रार्थना हो । यो दुई किसिमको हुन्छ- तरावी र खत्तम तरावी । यी दुवै नमाज २० रिकातको हुन्छ, जसमा इस्लामी ग्रन्थ कुरानको अक्षरसः पढनुपर्छ । खत्तम तरावी कुरानका पूरै हरफहरू कण्ठस्थ पारेर पढ्नु पर्छ । तरावी कुरान कण्ठस्थ भएका मौलाना वा हाफिज दुवैले पढाउन पाउँछन् ।

आर्थिक रूपमा सम्पन्न मुसलमानले रोजाको समयमा गरीब, दीनदुखीहरूलाई दान गर्नु पर्छ । दान धार्मिक नियमानुसार गर्नु पर्ने हुन्छ, यसमा कसैले कम, कसैले बढी भने हुँदैन ।

रोजाको समयमा मुसलमानहरूले आफ्नो सम्पतिको अढाइ प्रतिशत जकात (कर) निकाल्नु पर्छ । यस अतिरिक्त रोजाको अवधि पूरा गरिसकेपछि “इद”को नमाज पढ्नुभन्दा पहिले जनही एक किलो ७ सय ५० ग्राम गहुँको दाम निकाल्नुपर्छ, जसलाई फित्तरा भनिन्छ । यो नियम संसारभरीका मुसलमानमा लागू हुन्छ । यसरी निकालिएको रकम गरीब दीनदुःखीहरूलाई बाँड्नुका साथै फित्तरा र जकात मुसलमानहरूको पाठशाला (मदरशा) सञ्चालनमा प्रयोग गरिन्छ । तीस दिनको रोजा पूरा गरेपछि पुरूषहरू इदगाहमा र महिलाहरू एकान्त ठाउँमा गएर सामूहिकरूपमा नमाज पढ्ने गर्छन् र अन्त्यमा एक आपसमा अँगालो मारेर इदमुवारक भन्दै बधाई साटासाट गर्छन्।

नमाजको समयमा शरीरसँगै लुगाफाटो पनि शुद्ध राख्नु पर्ने कडा धार्मिक नियम छ ।

यहाँ कमेन्ट गर्नुहोस्