१३ बैशाख २०८१, बिहिबार
Tags

आर्थिक मन्दीको समयमा पनि बजारमा भारु नोट प्रशस्त

साभार सोमबार, माघ २३, २०७९

विराटनगर / सीमा क्षेत्रका नेपाली बजारमा भारतीय रूपैयाँ प्रशस्त मात्रामा पाउन थालेपपछि सम्बन्धित निकायलाई यसले आश्चर्य तुल्याएको छ । आर्थिक मन्दीको समयमा भारतीय रूपैयाँ नेपालमा कसरी भित्रिरहेको छ भन्ने चासो सबैले लिन थालेका छन् । केही समय यता भारू प्रशस्त मात्रामा पाउन थालेको हो ।

नेपाली रूपैयाँ भारतीय रूपैयाँ भन्दा सस्तो छ । नेरू १ सय ६० रूपैयाँमा भारू एक सय पाइन्छ । नेपालमा राष्ट्र बैंकले निर्धारण गरेको विनिमय दर यही नै हो । भारू र नेरूको सटही दरमा अरू विदेशी मुद्राको जस्तो फरक हुने हुँदैन । सरकारी दर अहिले पनि त्यही नै छ । तर बजारमा नेरू १ सय ५० मै एक सय भारू पाउन थालेको छ । बजारमा भारूको अभाव हुँदा भारूको सटही दर बजारमा १ सय ७० रूपैयाँ पुग्छ तर अहिले भने ठीक उल्टो भएको छ ।

विराटनगरका पुराना सुन व्यवसायी जुगलकिशोर राठीका अनुसार भारू भित्रिने प्रमुख आधार हरूमध्ये सुन तस्करी पनि एउटा आधार हो । नेपाल र भारतमा सुनको भाउमा अहिले खासै अन्तर छैन । तर अवैध रूपमा सम्पत्ति आर्जन गर्नेहरू सुन खरिद गरेर राख्ने गर्दछन् । अवैध आम्दानीबाट खरिद गरिने अवैध सुन नै हो । अहिले नेपालका बैंकहरूले भारतीय बैंकहरूले भन्दा बढी व्याज दिने गरेका छन् । मुद्दती खातामा जम्मा गरेको रकममा बढी व्याज दिने गरेका हुन् । दोहोरो नागरिकता भएका भारतीयहरूले नेपालका बैंकमा खाता खोल्ने गरेका छन् । भारतीय नागरिकले भने भारतीय दुतावासको सवीकृति लिएर मात्रै नेपालमा खाता पाइने हुँदा भारतीय नागरिकको यता त्यति धेरै खाता नरहेको एक प्राइभेट बैंकको शाखा प्रमुख बताउँछन् ।

भारतीय रूपैयाँ नेपाल भित्रिने अर्को प्रमुख बाटो भनेको आँखा अस्पताल पनि हुन् । विराटनगरको रानीस्थित हाजी आँखा अस्पतालका सञ्चालक तेजलाल कर्ण बताउनुहुन्छ विराटनगरमा दैनिक सरदर एक हजारको संख्यामा भारतीयहरू आँखाको उपचार गर्न विराटनगर आउने गर्छन् । विराटनगर आँखा अस्पताल, विराट आँखा अस्पताल, रामलाल गोल्छा आँखा अस्पताल, तापडिया आँखा अस्पताल, हाजी आँखा अस्पतालका साथै भाष्कर आई कियर सेन्टर, सञ्जीवनी आई कियर सेन्टर, सिद्धार्थ आई कियर सेन्टरलगायत विराटनगरमा एक दर्जन जति आँखाको उपचार गर्ने संस्थाहरू छन् । ती संस्थाहरूको माध्यमबाट दैनिक लाखौं भारतीय रूपैयाँ भित्रिने गरेको छ ।

अहिले नेपालमा बिहे गर्न आउने भारतीयहरूको संख्या बढेको छ । जुगल राठीका अनुसार एउटै बिहेमा मात्रै कम्तीमा ५० लाख भारू भित्रिने गर्छ । मोरङको विराट चोकमा सञ्चालित नेपालीरिका होटलका अधिकांश ग्राहक भारतीय हुन् । विराटनगर र आसपासमा पश्चिम बंगालको सिलिगुडीदेखि लिएर बिहारका विभिन्न शहरहरूबाट विहा गर्न नेपाल आउन थालेका छन् । त्यसबाट पनि भारू नेपाल आउने गरेको छ । बिहारमा मदिरा निषेध गरेकाले मदिराका पारखीहरू मदिरा सेवनकै लागि पनि नेपाल आउने गरेका छन् । सीमा क्षेत्रका नेपाली रेष्टुरेन्टहरू भारतीय उपभोक्ताकै भरमा चलेका छन् । नेपालबाट मदिरा अवैध रूपमा बिहार जाने गर्दछ । त्यो पनि भारू आउने प्रमुख बाटो हो । नेपाल घुम्न आउनेहरूले खर्च गर्ने पैसो पनि भारूको स्रोत हो ।

विराटनगरमा दुईवटा क्यासिनो सञ्चालनमा छन् । ती क्यासिनोमा खेल्न आउने भारतीयहरूबाट पनि भारू भित्रिने गरेको छ । त्यसका अलावा नेपालबाट हुने गाँजा तस्करी भारू आगमनको आर्को माध्ययम हो । हुण्डीबाट पनि भारू नेपाल आउने गरेको केही व्यवसायीको अनुमान छ । तर हुण्डीबाट भारू आउने भन्दा पनि बढी भारू बाहिरिने गर्दछ । बिहावारी गर्न भारत जनेहरू, पढ्न जोन विद्यार्थी, तीर्थ गर्न, घुम्न जानेहरू र उपचार गर्न जानेहरूले भने ठूलो परिमाणमा भारू लैजाने गरेका छन् ।

आजको उद्घोष दैनिकबाट

यहाँ कमेन्ट गर्नुहोस्