२७ बैशाख २०८१, बिहिबार
Tags

ईप्रका रानीले नागरिक सँग साझा गर्यो काम र कर्तव्य, ३ महिनामा ५३ जना फरार अभियुक्तलाई पक्राउ

रणभूमी डेस्क बुधबार, आश्विन २४, २०८०

विराटनगर / ईलाका प्रहरी कार्यालय रानीले बुधवार विराटनगर महानगर पालिका १३ मा समुदाय – प्रहरी साझेदारी अन्तर्गत नागरिक सुनवाई कार्यक्रम गरेको छ ।

सामुदायिक प्रहरी सेवा केन्द्र रानीको अध्यक्ष किशोर सुब्बाको अध्यक्षतामा र मोरङ्ग निर्वाचन क्षेत्र नं ५ बाट स्वतन्त्र रुपमा निर्वाचित प्रतिनिधि सभा सदस्य माननीय योगेन्द्र मण्डलको प्रमुख आतिथ्यमा नागरिक सुनवाई कार्यक्रम गरिएको थियो ।

ईलाका प्रहरी कार्यालय रानीको प्रहरी वरिष्ठ नायब निरीक्षक रुपेश थपलियाले कार्यक्रम सञ्चालन गर्नुभएको थियो । जसमा ईलाका प्रहरी कार्यालय रानी प्रमुख प्रहरी निरिक्षक सन्दिप वेल्वासेले ईप्रका रानी द्वारा गरिएको तीन महिने प्रगति विवरण प्रस्तुत गर्नुभएको थियो ।

ईलाका प्रहरी कार्यालय रानीमा ३ महिनामा जम्मा ६३ वटा अपराधको मुद्दा दर्ता भएको छ । जसमा सबै भन्दा बढी ५१ वटा मुद्दा लागूऔषध सम्बन्धी रहेको छ भने भवितव्य ज्यान सम्बन्धी २, फुटकर ज्यान सम्बन्धी १, आत्महत्या २, चोरी ३, अभद्र व्यवहार १, जबर्जस्ती करणी १, अपहरण शरीर बन्धक १ र सवारी ज्यान १ गरी दर्ता भएका ६३ मुद्दाहरु मध्ये २४ वटा मुद्दाहरु फर्छ्यौट भईसकेको र ३९ वटा मुद्दाहरु कार्वाही प्रक्रियामा रहेको बताउनुभयो ।

त्यसैगरी ईलाका प्रहरी कार्यालय रानीले पहिलो त्रैमासिकमा अदालतबाट दण्ड जरिवाना भई फरार रहेका ५३ जना अभियुक्तहरूलाई पक्राउ गरी अदालतमा बुझाएको छ । जसमा २ लाख १४ हजार ९ सय २३ रुपैयाँ जरिवाना समेत असुल असुल ऊपर भएको छ ।

ईलाका प्रहरी कार्यालय रानी तथा मातहतमा रहेको एरियामा तीन महिना भित्रमा कुनै ठूलो घटना नभए पनि २ वटा घरहरू पूर्ण रुपमा नष्ट भएका छन् । जसमा २ लाख ७५ हजार रुपैयाँ बराबरको क्षती भएको तथ्याङ्क देखाउनुभयो । नेपाल सरकारबाट पारित भएको नागरिकता विद्येयकले गर्दा आवश्यकता अनुसार तीन महिनामा १९२ वटा नागरिकता सर्जमिन सिफारिस गरेको छ ।

ईलाका प्रहरी कार्यालय बुद्धनगरमा, ईलाका प्रहरी कार्यालय रानी (सीमा), अस्थाई प्रहरी चौकी मटियरुवा, अस्थाई प्रहरी चौकी भेडियारी र भन्सार सुरक्षा गार्ड मातहतमा रहेको ईलाका प्रहरी कार्यालय रानीमा तिन महिनमा २८ जना महिला, बालबालिका, जेष्ठ नागरिक हराएको मानिसहरूमा रानीले २१ जना फेला पार्न सफल भएको तथ्याङ्क रहेको छ ।

त्यसैगरी तीन महिनामा ईलाका प्रहरी कार्यालय रानीको महिला, बालबालिका तथा जेष्ठ नागरिक सेवा केन्द्रमा जम्मा ४० वटा परेको उजुरीमा ३० वटा फर्छौट भईसकेको छ भने ६ वटा सम्बन्धित निकायमा पठाएको र ४ वटा प्रक्रियामा रहेको छ । प्रहरी कार्यालयमा ठाडो उजुरीको संख्या ६८ वटा रहेको जसमा ४२ वटा फर्छ्यौट भईसकेको १६ वटा सम्बन्धित निकायमा बुझाएको र १० वटा प्रक्रियामा रहेको तथ्याङ्क ले देखाएको छ ।

सोही क्रममा मानव तथा चेलीबेटी बेचबिखन विरुद्धको संस्थाहरू साना हाथहरु नेपाल, माईती नेपाल, विश्व सेवा विस्तार संस्था र आफन्त नेपालले तीन महिनाको अवधिमा ईलाका प्रहरी कार्यालय रानीमा ल्याई जम्मा ५१ जना बालबालिका हरुको उद्धार गरेको छ । जसमा उमेर नपुगेका बालक ८ जना र बालिका १८ जना रहेको बताए ।

ईलाका प्रहरी कार्यालय रानीले “साझेदारी” कार्यक्रम अन्तर्गत २०८०/०८१ को असोज मसान्त सम्म गरिएका कार्यक्रमहरुमा लैङगिक हिंसा, घरेलु हिंसा नियन्त्रण सम्बन्धी ४, लागू औषध नियन्त्रण सम्बन्धी ११, बालविवाह, बहुविवाह नियन्त्रण सम्बन्धी १, सरसफाई कार्यक्रम ७, प्रहरी संग १ दिन कार्यक्रम ३, अन्तरक्रिया कार्यक्रम ९, सवारी दुर्घटना न्यूनीकरण सम्बन्धी ७, आत्महत्या रोकथाम सम्बन्धी ६, जवरजस्ती करणी नियन्त्रण सम्बन्धी १, मानव वेचविखन नियन्त्रण सम्बन्धी ५, डेङगु रोग नियन्त्रण सम्बन्धी १ वटा गरी जम्मा ५५ वटा कार्यक्रमहरु गरिसकेको छ ।

प्रहरी कार्यालय रानीबाट लागू औषध नियन्त्रणका लागि सामुदायिक सचेतना कार्यक्रम, स्कुल सचेतना कार्यक्रम, लागू औषध सेवन चेकिङ्ग, लघु सचेतना कार्यक्रम र तालिम प्राप्त कुकुर सहितको चेकिङ्ग, सिमानामा होल्डिङ कार्यक्रम लगाएतका प्रयासहरू निरन्तर गरिरहेको प्रहरी निरिक्षक वेल्वासेले बताए ।

जिम्मेवार व्यक्ति स्थानिय राजनैतिक दलका नेता तथा प्रतिनिधिहरूले समाजको बारेमा सकारात्मक रुपमा सोचेर सुरक्षाकर्मीहरुलाई सहयोग गरे समाज सुरक्षित र सम्पन्न हुने कायक्रमको प्रमुख अतिथि प्रतिनिधि सभा सदस्य माननीय योगेन्द्र मण्डलले बताए ।

कार्यक्रममा वडा नं १३,१४,१५,१६, १७ र १८ का वडा अध्यक्षहरु सूर्यलाल यादव, सूर्यनारायण महतो, प्रकाश शाह, उद्वव भुजेल, समिम कमर र जितेन्द्र कुमार साह तथा नागरिक समाज, महिला संघ, विद्यालय प्रतिष्ठानका प्रतिनिधिहरु, विभिन्न संघ संस्थाका प्रतिनिधहरु र विद्यार्थी नानी बाबुहरुको बाक्लो उपस्थितिमा कार्यक्रम गरिएको थियो ।

यहाँ कमेन्ट गर्नुहोस्