२७ बैशाख २०८१, बिहिबार
Tags

गैर आवासीय नेपाली संघले प्रविधि र सीप दिने हाे, नेतालाई चन्दा दिएर मगन्ते बनाउने हाेइन- मुख्यमन्त्री कार्की

रणभूमी डेस्क बुधबार, माघ ०३, २०८०

विराटनगर / मुख्यमन्त्री केदार कार्कीले गैर आवासीय नेपाली संघलाई नेताहरूलाई चन्दा दिएर मगन्ते नबनाइदिन आग्रह गरेका छन् ।

गैर आवासीय महासंघद्वारा बुधबार आयाेजित प्रदेश सरकारलाई रगत संकलन माेवाइल बस हस्तान्तरण कार्यक्रममा मुख्यमन्त्री कार्कीले संघले नेताहरूलाई चन्दा दिने काम तत्काल बन्द गरिदिन आग्रह गरेका हुन् । ´गैर आवासीय नेपाली संघले प्रविधि र सीप दिने हाे, नेतालाई चन्दा दिएर मगन्ते बनाउने हाेइन,` उनले भने, ´चन्दा दिएर नेता र देश बिगार्नु भन्दा देशकाे अर्थतन्त्र मजबुत बनाउन उद्याेग लगाउनु आवश्यक छ ।`

अहिले विदेशमा गएर श्रम गर्न जानेहरूलाई नयाँ पार्टी र पूराना पार्टीका नयाँ नेताहरूले एयरपाेर्टमा फाेटाे खिचेर अपमान गर्छन् तर उनीहरूसँग नै विदेशमा चन्दन माग्न जाने गरेकाे प्रति मुख्यमन्त्री कार्कीले आपत्ति जनाएका हुन् । ´गरीवले विदेशमा महंगाे मूल्यमा श्रम बेच्न जाँदा अपमान र हुनेखाने वर्गले आफ्ना छाेराछाेरीलाई यूराेप पठाउँदा सम्मा हुने चलन रहेसम्म देश विकास हुँदैन,` उनले भने, ´सबैकाे आ-आफ्ना श्रम, सीप र शक्ति हुन्छ । श्रम जहाँ महगाे बिक्छ त्यहा बेच्न पाउनु पर्छ । वकिलकाे श्रम सेवा र मजदुरकाे श्रम मजदुरी हुँदैन । सबै काम बराबर हुन्छ । अपमान गर्नु हुँदैन ।`

गैर आवासीय नेिाली संघले प्रविधि र सीप लिएर आए काेशी सरकारले पूँजी दिएर उद्याेग स्थापनाका लागि काेशी सरकार तयार रहेकाे मुख्यमन्त्री कार्कीले बताएका हुन् । ´
´काेशी सरकार उद्याेग र उद्याेगी मैत्री प्रदेश हाे,` उनले भने, ´त्यसैले काेशीमा तपाईं सीप र प्रविधि लिएर आउनुहाेस् पूँजी सरकारले दिन्छ । उद्याेगीकाे सम्पूर्ण सुरक्षाकाे जिम्मा काेशी सरकारले लिन्छ ।`

सरकार र व्यवसायी साझेदारी भन्न मिल्छ ? भन्दै उनले प्रश्न गरेका हुन् । ´सरकारविना व्यवसाय र व्यवसायविना सरकार हुन सक्छ ?` मुख्यमन्त्री कार्कीले भने, ´व्यवसायीले कर तिरेपछि सरकार सञ्चालन हुन्छ र व्यवसायीकाे समस्या सरकारले निवारण गर्ने भएकाे दुबै एक अर्कामा आश्रित छ ।`

कुनैपनि देश बन्न साझा एकता चाहिन्छ, विदेशीलाई प्रतिबन्ध लगाएर देश विकास हुन्छ ? भन्दै मुख्यमन्त्री कार्कीले प्रश्न गरेका हुन् । विदेशबाट आउने कम्पनि र बिदेशबाट आउने नेपालीलाई लुटन खाेज्ने प्रवृति रहुञ्जेल देश समृद्ध नहुने उनकाे भनाइ थियाे ।

किरात सभ्यता याे प्रदेशकाे पहिलाे पहिचान भएकाे मुख्यमन्त्री कार्कीले बताएका हुन् । ´यहाँका पहिचान पक्षधरकाे माग र मुद्दा सम्वाेधनका लागि वार्ता गर्न प्रदेश सरकार तयार छ,` उनले भने, ´छिटाेभन्दा छिटाे वार्ता गरेर पहिचान पक्षधरकाे पहिचान स्थापित गराउने याेजना कार्यान्वयन गर्नु छ ।`

किरात सभ्यता यश प्रदेशकाे शीर भएकाेले त्यसलाई ठाडाे राख्ने काेशी सरकारकाे पहिलाे दायित्व भएकाे मुख्यमन्त्री कार्कीले बताएका छन् । ´दलका नेताहरूले पहिचान पक्षधरकाे बारेमा अनेकाैं भाषण दिएर आन्दाेलन चर्काउने काम हालसम्म मात्रै गरेका छन् तर पहिचान स्थापित गराउन र माग तथा मुद्दा सम्बाेधनका लागि कसैले प्रक्रियासम्म अगाडि नबढाएकाले मैले त्याे काम सुरू गरेकाे छु,` उनले भने, ´पहिचानवादीकाे पहिचान स्थापित गराउन खुवालुङ, तुवाचुङ, आत्मानन्द, फाल्गुनन्दलगायतकाे स्थलकाे विकासका लागि काम अघि बढाएकाे छु ।`

वीपी स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानकाे समृद्धि भएकाेले त्यसलाई यहीका वासिन्दाले जाेगाउनु पर्ने उनकाे भनाइ थियाे । ´धरानबाट मान्छे लखेटेर हाेइन, फकाएर धरानकाे समृद्धिकाे यात्रा अघि बढाउनु आवश्यक छ,` मुख्यमन्त्री कार्कीले भने, ´काठमाडाैं र धरानबाट फेसन देशले सिक्ने अवस्थामा ह्रास आउनुमा काे दाेषी ? धरानवासीका कारण धरान पछि परिरहेकाे विषयमा यहाँका वासिन्दालाई एक पटक साेच्नै पर्ने बेला आएकाे छ ।`

गैर आवासिय नेपाली संघले दिएकाे याे बस मुख्यमन्त्री कार्कीले रेडक्रश शाखा धरानलाई हस्तान्तरण गर्दै यसकाे सदुपयाेग गर्नु आवश्यक रहेकाे उनले बताए । ´कलिलै उमेरमा विवाह गरेर बच्चा जन्माएपछि रगत बगेर ज्यान गुमाउने दुःख हेरेर बस सहयाेग गरेकाे छ,` उनले भने, ´अब टेण्ट लगाएर रगत संकलन गर्ने बाध्यता अन्त्य भएर हिँडदा हिँडदै रगत दिने अवस्था भयाे । तर यसकाे सदुपयाेगकाे चिन्ता छ ।`

यहाँ कमेन्ट गर्नुहोस्