२७ आश्विन २०८१, आइतबार
Tags

काेशी प्रदेश सरकारले सुरू गरे १० वर्षमुनिका बालबालिकाकाे निःशुल्क उपचार

रणभूमी डेस्क आइतबार, माघ ०७, २०८०

विराटनगर / काेशी प्रदेश सरकारले प्रदेशभरिका १० वर्षमुनिका बालबालिकाकाे निःशुल्क उपचार सुरू गरेकाे छ । मुख्यमन्त्री केदार कार्कीकाे उपस्थितिमा प्रदेश स्वास्थ्य मन्त्रालयले यस प्रदेशस्थित प्रदेश अस्पताल र चार वटा निजी अस्पतालसँग आइतबार सम्झाैता गरेर बालबालिकाकाे निःशुल्क उपचार सुरू गरेकाे हाे ।

मन्त्रालयले हाम्राे अस्पताल, विराट शिक्षण अस्पताल, नाेबेल शिक्षण अस्पताल,काठमाडाैं इन्टिच्यूट अफ चाइल्ड हेल्थ दमकसँग दुई पक्षीय सम्झाैता गरी निःशल्क उपचार सुरू गरेकाे छ । दुई पक्षीय सम्झाैता पत्रमा मुख्यमन्त्री कार्कीकाे विशेष उपस्थितिमा प्रदेश स्वास्थ्य मन्त्रालयका सचिव डा. सुधा देवकाेटा, काठमाडाैं इन्टिच्यूट अफ चाइल्ड हेल्थ दमकका डा.भगवान काेइराला, नाेबेल अस्पतालका निर्लेशक डा. राजेश नेपाललगायतले हस्ताक्षर गरेका थिए ।

मुख्यमन्त्री कार्कीले बच्चा अस्पतालमा भर्ना गरेर अभिभावकले ऋण खाेज्न जाने दिनकाे आजबाट काेशी प्रदेशमा अन्त्य भएकाे बताएका छन् । ´बालबालिका बिरामी भएपछि अस्पतालमा भर्ना गरेर ऋण खाेज्न जाने, उपचार शुल्कमा छुट गराउनका लागि नेताकाे घर धाउने र उपचार खर्च तिर्न नसकेर मसान घाट लग्न फेरी नेताकाे घर धाउने र उपचारमा सबै सम्पति सकेपछि अन्त्यमा कात्राे किन्ने पैसा माग्नु पर्ने दिनकाे आजबाट काेशी प्रदेशमा अन्त्य भएकाे छ,` उनले भने, ´अस्पताल प्रमुखहरूलाई सबै बालबालिकालाई आफ्नै छाेराछाेरी सम्झेर उपचार गरेर कुनैपनि बालबालिकाकाे उपचार अभावमा ज्यान जान नदिन आग्रह छ ।`

मुख्यमन्त्री कार्कीले निजी अस्पताल पनि प्रदेश सरकार मातहतकाे नै भएकाले यसमा बच्चाकाे उपचारकाे लागि जुनसुकै उपकरण बिग्रिएकाे अवस्थामा प्रदेश सरकारले सहयाेग गर्ने प्रतिबद्धता जनाएका छन् । काेशी प्रदेशमा ५ वर्षमुनिका एक हजार बालबालिकामध्ये ३४ जनाकाे मृत्यु हुने गरेकाे बाल मृत्यु दर काेशी प्रदेशमा रहेकाे मन्त्रालयले जनाएकाे छ ।

यहाँ कमेन्ट गर्नुहोस्