रणभुमी डेस्क मंगलबार, भाद्र २५, २०८१
विराटनगर / कोशी प्रदेशमा पहिलो पटक कृषि एक्स्पो २०८१ आयोजना हुने भएको छ। नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशले यही २०८१ भाद्र २७ देखि ३० गतेसम्म कटहरी कृषि थोक बजारमा यो एक्स्पो आयोजना गर्न लागेको हो।
कोशी प्रदेशको अर्थतन्त्रमा एक तिहाईभन्दा बढी योगदान दिने कृषि क्षेत्रको प्रवर्द्धन र विस्तार गर्ने उद्देश्यले यो एक्स्पो आयोजना गरिएको महासंघले जनाएको छ। एक्स्पोमा नवीनतम कृषि औजार, यन्त्र तथा प्रविधिको प्रदर्शनी, उन्नत जातका पशुपक्षी प्रदर्शनी, पर्यावरणमैत्री ज्ञान र सीपको प्रदर्शन, कृषि विज्ञसँग छलफल तथा सेमिनार लगायतका कार्यक्रम हुनेछन्।
एक्स्पोमा करिब १३० वटा स्टल रहने र तीमध्ये २० वटा स्टल भारतको बिहार तथा कोलकाताबाट आउने जानकारी दिइएको छ। कृषि, पशुपक्षी, जलवायु परिवर्तन जस्ता विषयमा नेपाल र भारतका विज्ञहरूबाट संवाद कार्यक्रम पनि राखिएको छ।
एक्स्पोमा प्रवेश निःशुल्क गरिएको छ भने जिल्ला बाहिरबाट आउने कृषकहरूका लागि निःशुल्क खाना र आवासको व्यवस्था गरिएको छ। कोशी प्रदेश सरकार, स्विस सरकार विकास सहयोग र विभिन्न बैंक तथा वित्तीय संस्थाहरूले एक्स्पोलाई सहयोग गरेका छन्।
यो एक्स्पोले कृषि क्षेत्रको उत्पादन वृद्धि, बजारीकरण र मूल्य अभिवृद्धि गर्दै रोजगारी सिर्जना र राष्ट्रिय अर्थतन्त्रको विस्तारमा योगदान पुर्याउने आशा गरिएको छ।