
रणभुमी डेस्क बुधबार, फाल्गुण ०७, २०८१

विराटनगर / भारतको उडिसास्थित केआईआईटी विश्वविद्यालयमा अध्ययनरत नेपाली छात्रा प्रकृति लम्सालको शंकास्पद मृत्युको घटनामा न्याय माग गर्दै बुधवार साँझ विराटनगरको रानी नाकामा श्रद्धाञ्जली सभा आयोजना गरिएको छ।
अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन (अनेरासब्यु) विराटनगर महानगर कमिटीका संयोजक विवेक बस्नेतको नेतृत्वमा आयोजित कार्यक्रममा सहभागीहरूले मैनबत्ती बालेर र प्लेकार्ड प्रदर्शन गर्दै घटनाको निष्पक्ष छानबिनको माग गरेका छन्।
नेपाल-भारत सीमा क्षेत्र दशगजा नजिक रानी नाकामा आयोजित यस विरोध कार्यक्रममा विद्यार्थी नेता तथा कार्यकर्ताहरूले लम्साल परिवारलाई न्याय दिलाउन र यस्ता घटनाको पुनरावृत्ति रोक्न दुवै देशका सरकारले पहल गर्नुपर्ने माग राखेका छन्।
मृतक लम्सालको परिवार र नेपाली समुदायले घटनाको वस्तुनिष्ठ अनुसन्धान र दोषीमाथि कारबाहीको माग गर्दै आएका छन्।