
रणभुमी डेस्क मंगलबार, बैशाख ०९, २०८२

विराटनगर / भारतको पुर्णियामा आयोजित भारत-नेपाल साझेदारी शिखर सम्मेलन २०२५ मा मोरङ उद्योग व्यापार संघका वरिष्ठ उपाध्यक्ष अनिल कुमार साह विशिष्ट अतिथि तथा मुख्य वक्ताको रूपमा सहभागी भएका छन्।
द सब हिमालयन रिसर्च इन्स्टिच्युट, पुर्णिया र पि.एच.डी. चेम्बर अफ कमर्श एण्ड इण्डष्ट्री, न्यू दिल्लीद्वारा मंगलबार आयोजित उक्त सम्मेलनमा दुवै मुलुकका विशिष्ट व्यक्तित्वहरूको उपस्थिति रहेको थियो।
सम्मेलनमा नेपालको तर्फबाट वरिष्ठ उपाध्यक्ष साहका साथै नेपाल इन्स्टिच्युट अफ इन्टरनेशनल एण्ड स्ट्रेटेजिक स्टडिजका संस्थापक निर्देशक भाष्कर कोइराला र नेपाल-भारत सामाजिक अभियन्ता प्रवीण नारायण चौधरीको पनि सहभागिता रहेको थियो।
वरिष्ठ उपाध्यक्ष साहले सम्मेलनमा नेपाल-भारत बीचको सुमधुर, घनिष्ठ तथा बहुआयामिक सम्बन्धलाई आगामी दिनमा थप प्रगाढ बनाउनुपर्ने बताउँदै यसका लागि आवश्यक रूपरेखा सुझावका रूपमा प्रस्तुत गरेका थिए।
सम्मेलनमा नेपालसँगको सामाजिक, औद्योगिक, पर्यटन, शैक्षिक, स्वास्थ्य लगायतका क्षेत्रको प्रवर्द्धन एवं विकासका लागि भारतले खेल्नुपर्ने भूमिकाबारे छलफल भएको थियो। त्यसैगरी, द्विपक्षीय व्यापार नीतिहरूको पुनरावलोकन, व्यापार घाटा न्यूनीकरण, लगानी प्रवर्द्धन, आर्थिक समन्वय विस्तार र सीमावर्ती क्षेत्रहरूको विकासका विषयमा कार्यपत्रसहितको सुझाव प्रस्तुत गरिएको थियो।
यसै अवसरमा मोरङ उद्योग व्यापार संघ र द सब हिमालयन रिसर्च इन्स्टिच्युट बीच शैक्षिक र अनुसन्धान, सम्पदा संरक्षण, सामाजिक विकास, सांस्कृतिक जागरूकता तथा विद्यार्थी र संकाय आदान-प्रदान लगायतका विषयमा संयुक्त कार्यक्रमहरू आयोजना गर्ने समझदारीपत्रमा हस्ताक्षर भएको छ।