
रणभूमी डेस्क बिहिबार, बैशाख १८, २०८२

विराटनगर / पूर्वी नेपालका विभिन्न जिल्लाहरूबाट लागूऔषध ब्राउन सुगर, प्रतिबन्धित औषधि र गाँजा सहित चार जनालाई प्रहरीले पक्राउ गरेको छ।
गत वैशाख १७ गते साँझ विराटनगर महानगरपालिका-१६ मा लागूऔषध नियन्त्रण ब्यूरो विराटनगर र इलाका प्रहरी कार्यालय रानीको संयुक्त टोलीले चेकजाँचको क्रममा तीन जनालाई नियन्त्रित पदार्थ सहित पक्राउ गरेको हो। पक्राउ पर्नेहरूमा सुनसरी धरान उप-महानगरपालिका-१५ का ३५ वर्षीय डेबिट तामाङ र धनकुटा महालक्ष्मी-४ का १९ वर्षीय विक्रम तामाङ रहेका छन्, जसको साथबाट ४ ग्राम ५९ मिलिग्राम ब्राउन सुगर बरामद गरिएको छ। त्यसैगरी, मोरङ सुन्दरहरैचा-५ का २४ वर्षीय दुखन ऋषिदेवलाई ४१० मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरिएको छ।
सोही दिन धनकुटामा इलाका प्रहरी कार्यालय भेडेटारले छथरजोरपाटी गाउँपालिका-५ का २४ वर्षीय निमा शेर्पालाई २ किलोग्राम गाँजा सहित पक्राउ गरेको छ। शेर्पालाई प्र. १-०२-०५५ प ३९०७ नम्बरको मोटरसाइकल चलाइरहेको अवस्थामा नियमित चेकजाँचका क्रममा पक्राउ गरिएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार पक्राउ परेका चारै जनामाथि थप अनुसन्धान भइरहेको छ र उनीहरूलाई लागूऔषध नियन्त्रण ऐन अन्तर्गत कारबाही अगाडि बढाइने जनाइएको छ।
पछिल्लो समय पूर्वी नेपालमा लागूऔषधको कारोबार र प्रयोग बढ्दै गएको चिन्ता व्यक्त गरिएको छ। विशेषगरी युवा वर्गमा ब्राउन सुगर जस्ता खतरनाक लागूपदार्थको प्रयोग बढ्दो क्रममा रहेको प्रहरी स्रोतले जनाएको छ।