१९ आश्विन २०८३, सोमबार
Tags

कोशी प्रदेशका विभिन्न जिल्लाबाट लागूऔषधसहित १४ जना पक्राउ

रणभूमी सम्वाददाता सोमबार, आश्विन १९, २०८३

विराटनगर । कोशी प्रदेशका विभिन्न जिल्लाबाट प्रहरीले लागूऔषधसहित १४ जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेहरूबाट ब्राउन सुगर र प्रतिबन्धित औषधि बरामद गरिएको प्रहरीले जनाएको छ।
असोज १८ गते झापाको वडा प्रहरी कार्यालय भद्रपुर र लागूऔषध नियन्त्रण ब्युरो काँकरभिट्टाको संयुक्त प्रहरी टोलीले भद्रपुर नगरपालिका–५ मा चेकजाँच गर्ने क्रममा प्र.१–०२–०४३ प ८७३८ नम्बरको मोटरसाइकलमा सवार इलाम नगरपालिका–१० का सरोज बनियालाई ५ ग्राम ६० मिलिग्राम ब्राउन सुगरसहित पक्राउ गरेको हो।
यसैगरी, मोरङमा इलाका प्रहरी कार्यालय रानी र लागूऔषध नियन्त्रण ब्युरो विराटनगरको टोलीले सुन्दरहरैँचा नगरपालिका–११ का विशाल बस्नेतलाई ३०० मिलिग्राम ब्राउन सुगरसहित पक्राउ गरेको छ। सोही क्रममा धरान–९ का नरेश खड्गी र कृष्ण राईलाई ४ ग्राम ४६० मिलिग्राम तथा केराबारी गाउँपालिका–६ का शुसान्त वि.क. र निर्मल तामाङलाई ४ ग्राम ९०० मिलिग्राम ब्राउन सुगरसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ।
त्यस्तै, प्रदेश प्रहरीको अनुसन्धान समूह र इलाका प्रहरी कार्यालय रंगेलीको टोलीले रंगेली नगरपालिका–५ का कृष्णकुमार पासवानलाई ९ ग्राम ३४० मिलिग्राम ब्राउन सुगरसहित पक्राउ गरेको छ। इलाका प्रहरी कार्यालय पथरीले पथरीशनिश्चरे नगरपालिका–१ का अरुण मण्डल र विवेक धिमाललाई १ ग्राम ४९० मिलिग्राम ब्राउन सुगरसहित पक्राउ गरेको हो।
यसैगरी, सुनसरीको इलाका प्रहरी कार्यालय धरानले धरान–८ का बिमलराज धामीलाई २ ग्राम ८१० मिलिग्राम ब्राउन सुगरसहित पक्राउ गरेको छ।
धनकुटामा जिल्ला प्रहरी कार्यालयको टोलीले चौबिसे नगरपालिका–६ का उपहार राई, शशिहाङ राई र साँगुरीगढी गाउँपालिका–५ का सलुन राईलाई २०० चक्की प्रतिबन्धित औषधिसहित पक्राउ गरेको प्रहरीले जनाएको छ।
यस्तै, उदयपुरको जिल्ला प्रहरी कार्यालयले त्रियुगा नगरपालिका–११ का महेन्द्र कार्कीलाई ८८० मिलिग्राम ब्राउन सुगरसहित पक्राउ गरेको छ।
लागूऔषधसहित पक्राउ परेका सबै १४ जनामाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। उनीहरूमाथि आवश्यक कानुनी कारबाहीको प्रक्रिया अगाडि बढाइएको छ।

यहाँ कमेन्ट गर्नुहोस्