२१ बैशाख २०८२, आइतबार
Tags

प्रतिबन्धित तथा नियन्त्रित औषधीसहित सुनसरीबाट ६ जना पक्राउ

रणभूमी डेस्क शनिबार, बैशाख २०, २०८२

सुनसरी / सुनसरीको विभिन्न स्थानहरूबाट प्रतिबन्धित तथा नियन्त्रित औषधिसहित ६ जनालाई प्रहरीले पक्राउ गरेको छ।

वैशाख १९ गते राति पौने १२ बजे धरान उप-महानगरपालिका-१ शितल मार्गमा डेरा गरी बस्ने व्यक्तिहरूले लागुऔषध कारोबार गरिरहेको भन्ने गोप्य सूचनाका आधारमा वडा प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोलीले छापा मारेको थियो।

छापाका क्रममा भोजपुरका ३० वर्षीय सुजन श्रेष्ठ, १७ वर्षीय अंगत श्रेष्ठ र ३१ वर्षीय सागर राईलाई कोठाभित्र लुकाई छुपाई राखेको प्रतिबन्धित औषधीसहित पक्राउ गरिएको छ। उनीहरूको साथबाट ट्रामाडोल, कोलिवान, स्पास्पेन, डिकोलिक, नाइट्राजेपाम, एरोमिनिक गरी १०,३१५ पिस, १.७६० ग्राम ब्राउन सुगर र नगद रु. २,५३,७९६ बरामद गरिएको प्रहरीले जानकारी दिएको छ।

सोही दिन वडा प्रहरी कार्यालय धरानले धरान उप-महानगरपालिका-१५ स्थितबाट धनुषा जनकपुर घर भई हाल सुनसरी धरान-१५ लक्ष्मन मार्गमा डेरा लिई बस्ने २५ वर्षीय राहुल शाह र निजकी २४ वर्षीया श्रीमती लक्ष्मी राईको कोठाबाट ट्रामाडोल ५,०५० क्याप्सुल बरामद गरेको छ।

यसैगरी धरान-१७ सियोन मार्गमा डेरा लिई बस्ने ४० वर्षीया ममता भगतको कोठाबाट ट्रामाडोल, स्पास्पेन र ओपाडोल गरी ६,२८५ चक्की औषधीसहित उनलाई पक्राउ गरिएको छ।

पक्राउ परेका सबै व्यक्तिहरूमाथि लागुऔषध नियन्त्रण ऐन अन्तर्गत थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

यहाँ कमेन्ट गर्नुहोस्