
रणभूमी डेस्क शनिबार, बैशाख २०, २०८२

विराटनगर / पूर्वी नेपालका विभिन्न जिल्लाहरू उदयपुर, झापा, सुनसरी र मोरङबाट प्रतिबन्धित औषधी र ब्राउन सुगरसहित ७ जनालाई प्रहरीले पक्राउ गरेको छ।
वैशाख १९ गते विराटनगर महानगरपालिका-१६ स्थितबाट लागू औषध नियन्त्रण ब्युरो विराटनगरबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा मोरङको बेलबारी नगरपालिका-३ का २४ वर्षीय प्रवेश राईलाई ३ ग्राम २ मिलिग्राम ब्राउन सुगरसहित नियन्त्रणमा लिएको छ।
सोही दिन इलाका प्रहरी कार्यालय उर्लाबारी मोरङबाट खटिएको प्रहरी टोलीले उर्लाबारी नगरपालिका-९ का २५ वर्षीय सुमन राईलाई निजकै घरबाट प्रतिबन्धित औषधि स्पास्मिट, ट्रमाडोल गरी २०२ ट्याब्लेट र १२ मिलिग्राम ब्राउन सुगरसहित पक्राउ गरेको हो।
झापामा पनि लागु औषध नियन्त्रण ब्युरो काँकडभिट्टाको प्रहरी टोलीले मेचीनगर नगरपालिका-६ स्थितबाट चार जनालाई १ ग्राम १९० मिलिग्राम ब्राउन सुगरसहित पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा मेचिनगर नगरपालिका-६ का २९ वर्षीय दिपक मल्लिक, २५ वर्षीय सरोज दाहाल, २५ वर्षीय शौगात पोखरेल र २१ वर्षीय बिजय भुजेल रहेका छन्।
यसैगरी, जिल्ला प्रहरी कार्यालय उदयपुरबाट खटिएको प्रहरी टोलीले उदयपुरको त्रियुगा नगरपालिका-१० का २१ वर्षीय अनमोल राईको घरबाट २५९ ग्राम लागू औषध गाँजा र प्रतिबन्धित औषधी कोलिवन र ट्रामाडोल गरी ७३६ ट्याब्लेट बरामद गरेको छ।
पक्राउ परेका सबैलाई लागू औषध नियन्त्रण ऐन अन्तर्गत कारबाही प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ। पूर्वी क्षेत्रमा लागू औषध कारोबारविरुद्ध प्रहरीले विशेष अभियान सञ्चालन गरेको र यस्ता कारोबारमा संलग्न व्यक्तिहरूविरुद्ध कडा कारबाही हुने प्रहरी प्रवक्ताले बताए।