
रणभूमी डेस्क शनिबार, बैशाख २०, २०८२

वीरगञ्ज / मानव बेचबिखन तथा ओसारपसारमा संलग्न रहेको अभियोगमा सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी नगरपालिका-१ निवासी २९ वर्षीय सुजन लामा भन्ने पासाङ तामाङलाई बुधबार बेलुकी प्रहरीले पक्राउ गरेको छ।
वीरगञ्ज महानगरपालिका-१६ शंकराचार्य गेटस्थित सडकबाट भारततर्फ जान लागेका तामाङ र एक युवतीलाई प्रहरी चौकी इनर्वाबाट खटिएको प्रहरीले आफन्त नेपालका कर्मचारीसमेतको उपस्थितिमा नियन्त्रणमा लिएको थियो।
प्रहरीका अनुसार थप अनुसन्धानको क्रममा तामाङले ती युवतीलाई वीरगञ्जस्थित कपडा कारखानामा राम्रो आम्दानी हुने काममा लगाइदिने प्रलोभनमा पारी बेचबिखन गर्ने उद्देश्यले भारततर्फ लैजाँदै गरेको खुल्न आएको छ।
उनीविरुद्ध मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन, २०६४ बमोजिमको कसुरमा जिल्ला अदालत पर्साबाट ७ दिन म्याद थप अनुमति लिई प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।
सीमा क्षेत्रमा मानव बेचबिखनका घटना बढ्दै गएको भन्दै प्रहरीले निगरानी बढाएको र शंकास्पद गतिविधिमा संलग्न व्यक्तिहरूमाथि कडा नजर राखिरहेको जनाएको छ। प्रहरीले यस्तै प्रकृतिका अपराधविरुद्ध सचेत रहन सर्वसाधारणलाई समेत आग्रह गरेको छ।