
रणभूमी डेस्क आइतबार, बैशाख २१, २०८२

सुनसरी / प्रहरीले सुनसरीको रामधुनी नगरपालिका-६ स्थितबाट लागूऔषध गाँजा ओसारपसार गरिरहेको भारतीय नम्बरको एम्बुलेन्स नियन्त्रणमा लिएको छ। विशेष सूचनाको आधारमा वैशाख २० गते राति ९ बजे इलाका प्रहरी कार्यालय इटहरी, धरान, पकली र रामधुनीबाट खटिएको प्रहरी टोलीले उक्त कारवाही गरेको हो।
बिआर ३८ पी ५४१४ नम्बरको एम्बुलेन्समा ६ वटा बोरामा लुकाई छिपाई ल्याउँदै गरेको १८० किलोग्राम गाँजा बरामद गरिएको छ। एम्बुलेन्स चालक बराहक्षेत्र नगरपालिका-४ का २५ वर्षीय श्रीराज कुमार साहलाई पक्राउ गरी थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय पकलीले जनाएको छ।
प्रहरीका अनुसार लोकमार्ग तथा भित्री सडक खण्डहरुमा सवारी साधनहरुको चेकजाँच गर्ने क्रममा रामधुनी-६ पिडारी क्षेत्रमा उक्त एम्बुलेन्स फेला परेको थियो। बरामद गरिएको लागूऔषधको मूल्य र यसको स्रोतबारे अनुसन्धान भइरहेको प्रहरीले बताएको छ।
पछिल्लो समयमा स्वास्थ्य सेवा प्रदान गर्ने सवारी साधनको दुरुपयोग गरी लागूऔषध ओसारपसार गर्ने गिरोहको सक्रियता बढेको विश्लेषकहरूले बताएका छन्। प्रहरीले यस्ता गतिविधिमाथि निगरानी बढाएको जनाएको छ।