
रणभूमी डेस्क आइतबार, बैशाख २१, २०८२

विराटनगर / मोरङ जिल्लाका विभिन्न स्थानमा भएका चोरीका घटनामा संलग्न एक जनालाई प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय मोरङले आज जारी गरेको प्रेस विज्ञप्तिअनुसार विराटनगर महानगरपालिका-२ का २७ वर्षीय सुमन तोलाङगीलाई वैशाख १९ गते विराटनगरको रंगशाला क्षेत्रबाट पक्राउ गरिएको हो।
प्रहरीका अनुसार, विराटनगर र बुढीगंगा क्षेत्रका विभिन्न घर, पसल र पार्टी प्यालेसहरूबाट सुनचाँदीका गरगहना, नगद, मोबाइल लगायतका सामानहरू चोरी भएको उजुरी आइरहेका थिए। गत फागुन २९ गते विराटनगर-३ स्थित साजन पार्टी प्यालेसको कार्यालयबाट ३ तोला सुनको गहना र २ लाख रुपैयाँ नगद चोरी भएको थियो। यसैगरी बुढीगंगा गाउँपालिका-१ निवासी नवराज भट्टराईको घरबाट पनि सुनका गहना, नगद तथा अन्य सामानहरू चोरी भएको उजुरी परेको थियो।
घटनास्थलमा जडित सिसिटिभी फुटेजको आधारमा अनुसन्धान गर्दा पक्राउ परेका तोलाङगीको घरबाट चोरीका केही सामानहरू बरामद गरिएको प्रहरीले जनाएको छ। प्रहरीले उनको घरबाट औंठी राख्ने ३ वटा बट्टा, सिक्री राख्ने १ बट्टा र पोते राख्ने १ बट्टा बरामद गरेको छ।
पक्राउ परेका तोलाङगीलाई अदालतबाट ५ दिनको म्याद थप गरी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ।