
रणभूमी डेस्क सोमबार, बैशाख २२, २०८२

काठमाडौं / काठमाडौं प्रहरीले स्रोत नखुलेको ९५ लाख १७ हजार ५०० रुपैयाँसहित चार जनालाई पक्राउ गरेको छ। काठमाडौं महानगरपालिका वडा नम्बर ९ पिंगलास्थानस्थित पशुपति भिजन अगाडि सडकमा दुई वटा मोटरसाइकलमा शंकास्पद अवस्थामा रहेका उनीहरूलाई नियन्त्रणमा लिइएको हो।
महानगरीय प्रहरी परिसर काठमाडौंका सूचना अधिकारी प्रहरी उपरीक्षक अपील राज बोहराले दिएको जानकारी अनुसार पक्राउ पर्नेहरूमा तार्केश्वर नगरपालिका-३ फेदीका २९ वर्षीय समुन्द्र जमकट्टेल, सप्तरीको सप्तकोशी नगरपालिका-१ का ४३ वर्षीय गणेश राई, लमजुङ दोदी गाउँपालिका-३ का ३१ वर्षीय सन्तोष गुरुङ र ३९ वर्षीय सन्तोष घिमिरे रहेका छन्।
प्रहरी उपरीक्षक बोहराका अनुसार उक्त रकम कहाँबाट ल्याइएको र के प्रयोजनका लागि बोकिएको भन्ने विषयमा अनुसन्धान भइरहेको छ। यस्तो ठूलो मात्रामा नगद बोकेर हिँड्नु आफैंमा शंकास्पद भएकाले प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको उनले बताए।
विशेष सूत्रको आधारमा ग्राउन्ड इन्टेलिजेन्स परिचालन गरी गरिएको चेकजाँचका क्रममा उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। पक्राउ परेका व्यक्तिहरूसँग बरामद गरिएको रकमको वैधता प्रमाणित गर्न नसकेपछि अनुसन्धानका लागि नियन्त्रणमा लिइएको प्रहरीको भनाइ छ।
प्रहरीका अनुसार पक्राउ परेका व्यक्तिहरूलाई सम्पत्ति शुद्धीकरण विभागमा पठाउने तयारी भइरहेको र त्यहाँबाट थप अनुसन्धान हुने जनाइएको छ। अवैध रुपमा ठूलो मात्रामा रकम ओसारपसार गरेको आशंकामा उनीहरूमाथि कारबाही अगाडि बढाइने प्रहरीले जानकारी दिएको छ।
सम्पत्ति शुद्धीकरण विभागका एक अधिकारीका अनुसार यस प्रकारका घटनाहरू पछिल्लो समय बढ्दै गएका छन्। अवैध आर्जन तथा कालो धनलाई वैध बनाउने प्रयासहरू विरुद्ध सरकारले कडा कारबाही गर्ने नीति लिएको उनले बताए।
थप अनुसन्धानपछि मात्र यस विषयमा अधिक जानकारी सार्वजनिक गरिने प्रहरीले जनाएको छ।