
रणभूमी डेस्क सोमबार, बैशाख २२, २०८२

विराटनगर, वैशाख २२ – मोरङ र झापाको विभिन्न स्थानहरूबाट प्रहरीले प्रतिबन्धित औषधी र ब्राउन सुगरसहित ६ जनालाई नियन्त्रणमा लिएको छ।
गत वैशाख २१ गते लागू औषध नियन्त्रण व्यूरो विराटनगर र इलाका प्रहरी कार्यालय रानीबाट खटिएको संयुक्त प्रहरी टोलीले बिराटनगर महानगरपालिका-१६ बाट सोलुखुम्बुको नेचा सल्यान गाउँपालिका-५ का ३० वर्षीय दिपक राईलाई ६ ग्राम ९० मिलिग्राम ब्राउन सुगरसहित पक्राउ गरेको छ।
सोही अभियानमा झापाको कमल गाउँपालिका-५ का २५ वर्षीय समिर सुब्बा र २५ वर्षीय सुजन सुब्बालाई २ ग्राम ९ मिलिग्राम ब्राउन सुगरसहित नियन्त्रणमा लिइएको छ।
यसैगरी, इलाका प्रहरी कार्यालय उर्लाबारीबाट खटिएको प्रहरी टोलीले मोरङको उर्लाबारी-३ का २३ वर्षीय आशिष राईलाई प्रतिबन्धित औषधी ट्रामाडोल र डायोसी ३१० क्याप्सुलसहित पक्राउ गरेको छ।
त्यसैगरी, इलाका प्रहरी कार्यालय गौरादहबाट खटिएको प्रहरी टोलीले झापाको गौरादह नगरपालिका-१ बेलडागीबाट स्थानीय ३४ वर्षीय रोमन अधिकारी र कमल गाउँपालिका-७ का २० वर्षीय पवन दाहाललाई ३ ग्राम ब्राउन सुगरसहित नियन्त्रणमा लिएको हो।
प्रहरीका अनुसार पक्राउ परेका सबै व्यक्तिहरूमाथि थप अनुसन्धान भइरहेको छ। प्रहरीले लागू औषध कारोबारमा संलग्न अन्य व्यक्तिहरूको पहिचान र खोजीकार्य तीव्र पारेको जनाएको छ।