
रणभूमी डेस्क बुधबार, बैशाख २४, २०८२

विराटनगर / सुनसरी र मोरङका विभिन्न स्थानबाट प्रहरीले निषेधित औषधी र खैरो हिरोइन सहित ६ जनालाई पक्राउ गरेको छ।
गत वैशाख २३ गते लागू औषध नियन्त्रण व्यूरो विराटनगरबाट खटिएको प्रहरी टोलीले मोरङ विराटनगर-१६ बाट सुनसरी इटहरी उप-महानगरपालिका-३ का २३ वर्षीय एमन खापुङलाई १ ग्राम १५ मिलिग्राम खैरो हिरोइन सहित पक्राउ गरेको छ।
सोही दिन इलाका प्रहरी कार्यालय उर्लाबारी मोरङबाट खटिएको टोलीले उर्लाबारी नगरपालिका-४ आईतबारेमा कोठा भाडामा बस्दै आएका ४२ वर्षीय योगेन्द्र तुङहाङलाई ४० चक्की प्रतिबन्धित औषधी र ३१० मिलिग्राम खैरो हिरोइन सहित नियन्त्रणमा लिएको छ।
यसैगरी झापाको अस्थायी प्रहरी चौकी गरामनीबाट खटिएको टोलीले बिर्तामोड-८ मा कोठा भाडामा बस्दै आएका २६ वर्षीय खड्ग सिंह माझी र २० वर्षीय मुस्कान भुजेललाई ३ ग्राम २२० मिलिग्राम खैरो हेरोइन सहित पक्राउ गरेको छ।
त्यसैगरी वडा प्रहरी कार्यालय धरानबाट खटिएको टोलीले स्पास्मोप्रोक्सिभोन ८९२ क्याप्सुल, नाइट्रोसन ७० चक्की र इएसक्युएफ ४० बोतल सहित सुनसरी धरान-८ का ३८ वर्षीय मनोज विश्वकर्मालाई पक्राउ गरेको छ। साथै, धरान उप-महानगरपालिका-३ स्थित क्वालिटी फुड कर्नर होटल एण्ड लजमा बसेका कैलाली धनगढीका ३१ वर्षीय निखिल भन्ने वसन्त राजवंशीलाई स्पास्मोप्रोक्सिभोन ३७० क्याप्सुल सहित नियन्त्रणमा लिइएको छ।
पक्राउ परेका सबै व्यक्तिहरू माथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।