
रणभूमी डेस्क बुधबार, बैशाख २४, २०८२

विराटनगर / बिराटनगरको एक बीमा कम्पनीका म्यानेजरलाई मृतक वैदेशिक कामदारको परिवारलाई ठगी गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ। मोरङ जिल्ला प्रहरी कार्यालयका अनुसार सन नेपाल लाइफ इन्सुरेन्स कम्पनीका शाखा प्रबन्धक सन्तोष अधिकारीलाई नियन्त्रणमा लिइएको हो।
केराबारी गाउँपालिकाका नईन्द्र विश्वकर्मा २०८० सालमा बहराइन गएका थिए। २०८१ सालमा उनी मृगौला रोगका कारण गम्भीर बिरामी भई नेपाल फर्किएका र उपचारकै क्रममा उनको मृत्यु भएको थियो।
मृतककी श्रीमती भिम कुमारी विश्वकर्माले बैदेशिक रोजगार बीमा बापतको १३ लाख रुपैयाँ माग्न बीमा कम्पनीमा जाँदा, म्यानेजर अधिकारीले उनलाई विभिन्न कागजातमा सही गर्न लगाएका थिए।
प्रहरी अनुसन्धानले देखाएअनुसार अधिकारीले भिम कुमारीलाई ग्लोबल बैंकमा खाता खोल्न लगाई खाली चेकहरूमा सही गराएर आफूसँग राखेका थिए। बैंकमा जाँदा भिम कुमारीले १३ लाख मध्ये मात्र साढे ५ लाख रुपैयाँ पाउने कुरा थाहा पाएपछि उनले प्रशासन कार्यालयमा उजुरी दिइन्।
अनुसन्धानबाट अधिकारीले बीमित परिवारको अज्ञानताको फाइदा उठाउँदै भिम कुमारीको नाममा वार्षिक ७० हजार रुपैयाँ तिर्नुपर्ने बीमा, मृतकका नाताका प्रतिक विश्वकर्माको नाममा वार्षिक ५१ हजार रुपैयाँ तिर्नुपर्ने बीमा र मृतकको जेठी श्रीमती मिराको नाममा वार्षिक ७० हजार रुपैयाँ तिर्नुपर्ने बीमा गरिदिएको देखिएको छ।
साथै, अधिकारीले भिम कुमारीको नाममा बैंकमा १५ वर्षे मुद्दती खातामा ६ लाख ४४ हजार रुपैयाँ जम्मा गरेको पनि फेला परेको छ।
जिल्ला प्रहरी कार्यालय मोरङ्गले अधिकारीलाई ठगी र विश्वासघात गरेको आरोपमा मुद्दा दर्ता गरी थप अनुसन्धान गरिरहेको जनाएको जिप्रका मोरङ्ग प्रवक्ता प्रनाउ वेद प्रकाश जोशीले जनाएको छ।