
रणभूमी डेस्क बिहिबार, बैशाख २५, २०८२

काठमाडौं, वैशाख २६ – वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठूलो रकम असुली गरेको अभियोगमा प्रहरीले ३ जना व्यक्तिलाई पक्राउ गरेको छ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरी टोलीले तार्केश्वर नगरपालिका-२ निवासी २८ वर्षीय जसमान तामाङ, काठमाडौं महानगरपालिका-९ निवासी ३६ वर्षीय भुपाल श्रेष्ठ र नागार्जुन नगरपालिका-५ निवासी ४८ वर्षीय मिन बहादुर थापालाई पक्राउ गरेको हो।
पीडितहरूको उजुरी अनुसार, जसमानले पोल्याण्ड पठाइदिने भन्दै २ जनाबाट ५ लाख २० हजार रुपैयाँ, भुपालले क्यानडा पठाइदिने भन्दै ३ जनाबाट ८ लाख रुपैयाँ र मिन बहादुरले क्यानडा पठाइदिने भन्दै ३ जनाबाट ७५ लाख रुपैयाँ उठाएर सम्पर्कविहीन भएका थिए।
उजुरीका आधारमा प्रहरीले जसमानलाई काठमाडौं महानगरपालिका-१२ बाट मंगलबार, भुपाललाई काठमाडौं महानगरपालिका-२६ बाट र मिन बहादुरलाई नागार्जुन नगरपालिका-५ बाट बुधबार पक्राउ गरेको हो।
प्रहरीका अनुसार, अभियुक्तहरूलाई थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको छ। अनुसन्धानका क्रममा अभियुक्तहरूले अन्य पीडितहरूलाई पनि ठगी गरेको हुन सक्ने प्रहरीले जनाएको छ।
वैदेशिक रोजगारीका नाममा ठगी गरेको अभियोगमा अभियुक्तहरूमाथि वैदेशिक रोजगार ऐन अनुसार कारबाही हुने प्रहरीले जानकारी दिएको छ।