
रणभूमी डेस्क बिहिबार, बैशाख २५, २०८२

हेटौंडा / मकवानपुर जिल्लाको हेटौंडा उपमहानगरपालिका-१५ रातोमाटेमा प्रहरीले नक्कली नेपाली नोटसहित एक व्यक्तिलाई पक्राउ गरेको छ।
प्रहरी चौकी रातोमाटेबाट खटिएको टोलीले बुधबार राति महोत्तरीबाट हेटौंडा बजारतर्फ जाँदै गरेको बा.३३ प ९९८३ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा मोटरसाइकल चालक रामकृष्ण अधिकारीको साथबाट नेपाली ५०० दरका १८६ थान नक्कली नोट बरामद गरेको हो।
पक्राउ परेका ४२ वर्षीय अधिकारी हेटौंडा उपमहानगरपालिका-८ कमानेमा बस्दै आएका छन्। उनको स्थायी ठेगाना धादिङको गंगाजमुना गाउँपालिका-२ रहेको प्रहरीले जनाएको छ।
बरामद गरिएका नक्कली नोटहरूको कुल मूल्य ९३,००० रुपैयाँ बराबर रहेको छ। प्रहरीले अधिकारी विरुद्ध थप अनुसन्धान गरिरहेको र नक्कली नोट कहाँबाट ल्याइएको तथा यसको वितरण सञ्जाल सम्बन्धमा छानबिन भइरहेको जनाएको छ।
नक्कली मुद्रा कारोबार गर्नु गम्भीर अपराध हो र यसले मुलुकको अर्थतन्त्रमा नकारात्मक प्रभाव पार्ने हुँदा प्रहरीले यस्ता गतिविधिमा संलग्न व्यक्तिहरूमाथि कडा कारबाही गर्ने जनाएको छ।