
रणभूमी डेस्क बिहिबार, बैशाख २५, २०८२

धनुषा / प्रहरीले सामाजिक सञ्जालको दुरुपयोग गरी ठगी गरेको अभियोगमा ७ जना युवालाई पक्राउ गरेको छ। पक्राउ परेकाहरूले इन्स्टाग्राम, टिकटक, फेसबुक लगायतका सामाजिक सञ्जालमार्फत सर्वसाधारणलाई मोबाइल तथा लत्ताकपडा जस्ता सामग्री सस्तोमा उपलब्ध गराउने भन्दै विश्वासमा पारेर ठगी गरिरहेको खुलेको छ।
जिल्ला प्रहरी कार्यालय धनुषाबाट खटिएको प्रहरी टोलीले धनुषाधाम नगरपालिका-१ का २३ वर्षीय सुरज साह, क्षिरेश्वरनाथ नगरपालिका-२ का २२ वर्षीय श्याम सुन्दर महरा, सोही नगरपालिका-१ का २० वर्षीय राम कुमार महरा, सर्लाही बरहथवा नगरपालिका-७ का २२ वर्षीय नितेश कुमार साह, महोत्तरी गौशाला नगरपालिका-१ का २२ वर्षीय रोशन साह, २१ वर्षीय सुधिर कुमार महतो र गौशाला नगरपालिका-२ का १९ वर्षीय अमित साहलाई पक्राउ गरेको हो।
प्रारम्भिक अनुसन्धानबाट उनीहरूले २१ वटा सामाजिक सञ्जाल एकाउन्ट तथा पेजहरू प्रयोग गरेको पाइएको छ। उनीहरूले सामाजिक सञ्जालमा आकर्षक फोटो तथा भिडियोहरू पोस्ट गरी, सामान खरिद गर्न चाहने व्यक्तिहरूलाई अग्रिम भुक्तानी गर्न लगाएका थिए।
प्रहरीका अनुसार, पक्राउ परेकाहरूले सर्वसाधारण नागरिकको नाममा बैंक, वित्तिय संस्था तथा वालेटहरूमा खाता खोल्न लगाई उक्त खातामा रकम जम्मा गराउने गरेका थिए। उनीहरूको साथबाट बरामद भएका मोबाइलबाट १८७ वटा विभिन्न बैंक, वित्तिय संस्था तथा वालेट आइडिहरूको विवरण फेला परेको छ। अनुसन्धानका क्रममा उक्त खाताहरूबाट हालसम्म २ करोड ६३ लाख ९३ हजार १ सय ९१ रुपैयाँ ८ पैसाको कारोबार भएको खुलेको छ।
पक्राउ परेका ७ जना विरुद्ध जिल्ला अदालत धनुषाबाट म्याद थप अनुमति लिइ प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।