
रणभूमी डेस्क बिहिबार, बैशाख २५, २०८२

काठमाडौं / जबरजस्ती करणी सम्बन्धी कसूर (वैवाहिक करणी) मुद्दामा फरार रहेका प्रतिवादी समसुदिन अंसारीलाई कतारबाट पक्राउ गरी नेपाल फिर्ता ल्याइएको छ। पर्सा वीरगंज महानगरपालिका-३१ बेलवाप्रसौनी ठेगाना भएका अंसारीलाई इन्टरपोलको रेड नोटिस जारी भएपछि कतारमा पक्राउ गरिएको हो।
नेपाल प्रहरी प्रधान कार्यालय इन्टरपोल शाखाका अनुसार एनसिबि काठमाडौंको अनुरोधमा इन्टरपोल महासचिवालयबाट गत अप्रिल १ (२०२५) मा अंसारी विरुद्ध रेड नोटिस जारी गरिएको थियो। एनसिबि कतार दोहाको समन्वयमा पक्राउ परेका अंसारीलाई बिहीबार नेपाल फिर्ता ल्याइएको छ।
इन्टरपोल शाखाले जनाए अनुसार अंसारीलाई सम्बन्धित कसूर बमोजिम कानूनी कारबाहीको लागि जिल्ला प्रहरी कार्यालय पर्सा बुझाइने छ। वैवाहिक करणी मुद्दामा फरार रहेका अंसारीलाई अन्तर्राष्ट्रिय प्रहरी संगठनको सहयोगमा पक्राउ गर्न सफलता मिलेको हो।
यो घटनाले अन्तर्राष्ट्रिय प्रहरी सहकार्यको महत्त्व र कानूनी प्रक्रियाबाट भाग्न खोज्नेहरूलाई पनि कानूनको दायरामा ल्याउन सम्भव रहेको देखाएको छ।