
रणभूमी डेस्क शुक्रबार, बैशाख २६, २०८२

विराटनगर / सामुदायिक प्रहरी सेवा केन्द्र रानी विराटनगरले शुक्रबार एक विशेष कार्यक्रमको आयोजना गरी इलाका प्रहरी कार्यालय रानीका नवनियुक्त कार्यालय प्रमुख प्रहरी निरीक्षक कबिन राईलाई स्वागत तथा सम्मान गर्यो।
केन्द्रका अध्यक्ष किशोर सुब्बाको अध्यक्षतामा आयोजित उक्त कार्यक्रममा स्थानीय जनप्रतिनिधिहरू, विभिन्न राजनीतिक दलका प्रतिनिधिहरू, बुद्धिजीवी, समाजसेवी तथा स्थानीयवासी गरी करिब ६० जनाको उपस्थिति रहेको थियो।
कार्यक्रममा नवनियुक्त प्रहरी निरीक्षक राईलाई औपचारिक स्वागत गर्नुका साथै क्षेत्रको समग्र शान्ति सुरक्षा व्यवस्थाको बारेमा गहन अन्तरक्रिया गरिएको थियो। उपस्थित सहभागीहरूले स्थानीय सुरक्षा चुनौतीहरू र समाधानका उपायहरूबारे आफ्ना विचारहरू राखेका थिए।
प्रहरी निरीक्षक राईले आफ्नो नयाँ जिम्मेवारीमा समुदाय र प्रहरीबीच सहकार्य सुदृढ बनाउँदै क्षेत्रको शान्ति सुरक्षा व्यवस्था मजबुत बनाउने प्रतिबद्धता व्यक्त गरे।
सामुदायिक प्रहरी सेवा केन्द्रका अध्यक्ष सुब्बाले स्थानीय सुरक्षा र अपराध न्यूनीकरणका लागि प्रहरी र समुदायबीचको सहकार्य अपरिहार्य रहेको बताउँदै नवनियुक्त प्रहरी निरीक्षकलाई हार्दिक शुभकामना दिए।