२९ बैशाख २०८२, सोमबार
Tags

खुकुरी र कोदालो प्रहारगरी श्रीमती ले श्रीमान् र श्रीमान् ले श्रीमतीको गरे हत्या

रणभूमी डेस्क आइतबार, बैशाख २८, २०८२

झापा / झापा र खोटाङमा बिहीबार भएका दुई छुट्टाछुट्टै घटनामा श्रीमान् र श्रीमतीबीच सामान्य विवादले उग्र रूप लिई हत्यामा परिणत भएको छ। प्रहरीले दुवै घटनामा संलग्न आरोपितहरूलाई नियन्त्रणमा लिएको जनाएको छ।

झापाको कनकाई नगरपालिका-२ सुकेडागीमा वैशाख २७ गते राति साढे ८ बजे ३५ वर्षीय कविराज हेमरनले आपसी विवादको क्रममा धारिलो हतियार खुकुरीले आफ्नी ३४ वर्षीया श्रीमती पुजा हेमरनको घाँटी काटेर हत्या गरेका थिए। घटनाको सूचना पाउनासाथ इलाका प्रहरी कार्यालय सुरुङ्गाबाट खटिएको प्रहरी टोलीले आरोपित श्रीमान्लाई तत्काल नियन्त्रणमा लिएको छ। मृतकको शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल भद्रपुर पठाइएको छ।

त्यसैगरी, सोही दिन बिहान खोटाङको हलेसी तुवाचुङ नगरपालिका-९ मा ५३ वर्षीया रेनुका राईले सामान्य विवादपछि आफ्ना ५१ वर्षीय श्रीमान् पाँचकर्ण राईलाई कोदालोको पासोले टाउकोमा प्रहार गरी गम्भीर घाइते बनाएकी थिइन्। प्रहरी चौकी अर्खौलेबाट खटिएको टोलीले घाइते राईलाई उद्धार गरी हेलिकप्टरमार्फत थप उपचारका लागि काठमाडौंको न्युरो अस्पताल पठाएको थियो। तर उपचारकै क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय खोटाङले घटनामा संलग्न रेनुका राईलाई नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको छ।
प्रहरीका अनुसार, दुवै घटनामा सामान्य वादविवादले उग्र रूप लिएर हत्यामा परिणत भएको देखिएको छ। प्रहरीले दुवै मामिलामा थप अनुसन्धान जारी राखेको जनाएको छ।

यहाँ कमेन्ट गर्नुहोस्