
रणभूमी डेस्क सोमबार, जेठ ०६, २०८२

रसुवा / रसुवागढी नाकाबाट नेपाल प्रवेश गर्दै गरेको एक कन्टेनरबाट प्रहरीले ठूलो परिमाणमा अवैध सुन बरामद गरेको छ। आज दिउँसो अन्दाजी १:३० बजे जिल्ला रसुवा गोसाईकुण्ड गाउँपालिका वडा नं. २ रसुवागढी स्थितमा चेकजाँचका क्रममा ७.६५३ केजी सुन फेला परेको हो।
प्रहरी नायब उपरीक्षक हेम बहादुर शाहीको कमाण्डमा खटिएको प्रहरी टोलीले चीनबाट नेपाल प्रवेश गर्दै गरेको बा ४ ख ६२०१ नम्बरको डब्बा कन्टेनरलाई रोकेर जाँच गरेको थियो। उक्त कन्टेनर जिल्ला रसुवा गोसाईकुण्ड गाउँपालिका वडा नं. ५ स्याफ्रु निवासी २४ वर्षीय किशोर कुमार भुजेलले चलाई ल्याएका थिए।
चेकजाँचका क्रममा कन्टेनरको अगाडि चालक बस्ने क्याविनको ढोका नजिक फल्स बटम बनाई कालो टेपले बेरिएको अवस्थामा सुन जस्तो देखिने पहेलो धातु फेला परेको थियो। बरामद गरिएको सुनलाई आवश्यक कारबाहीका लागि भन्सार कार्यालय टिमुरे रसुवा बुझाइएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार यस सम्बन्धमा थप अनुसन्धान भइरहेको छ।