
रणभूमी डेस्क मंगलबार, जेठ १३, २०८२

जोगवनी / जोगबनीमा एसएसबी र प्रहरीले संयुक्त छापामारी गर्दै ठूलो परिमाणमा लागूऔषध बरामद गरेको छ भने एकजना कारोबारी पक्राउ परेका छन् ।
भारतको अररिया जिल्ला अन्तर्गत जोगबनी थाना क्षेत्रको अमौना स्थानमा सोमबारका दिन एसएसबी र जोगबनी प्रहरीको संयुक्त टोलीले ठूलो परिमाणमा लागुऔषध बरामद गर्दै एकजना कारोबारीलाई पक्राउ गरेको छ।
गोप्य सूचनाको आधारमा एसएसबी र बिहार पुलिसको संयुक्त टोली जोगबनी नगरपालिका क्षेत्रको अमौना स्थित एक घरमा छापा मारेका थिए। छापामारीका क्रममा स्कफ कफ सिरप १ हजार ४ सय ५४ बोतल, नेट्राजिपाम ट्याब्लेट ४ हजार २ सय वटा, भारतीय रुपैयाँ १७ हजार र नेपाली रुपैयाँ ८ हजार ९ सय ५० सहितका वस्तुहरू बरामद गरिएको छ।
साथै, अमौना वार्ड नम्बर २० निवासी मोहम्मद उमर फारूकलाई पक्राउ गरिएको छ। बरामद औषधि र पक्राउ परेका कारोबारीलाई जोगबनी प्रहरीको जिम्मा दिइएको छ। जोगबनी प्रहरीले उनलाई विरुद्ध मुद्दा दर्ता गरी जेल पठाउने तयारी गरिरहेको जनाएको छ।
बथनाहा–अमौना क्षेत्र बन्दैछ नयाँ ‘ड्रग जोन’
जोगबनीको टिकुलिया बस्तीमा विगतमा संलग्न रहेका दर्जनौं ड्रग माफियाहरूले लागूऔषध कारोबारको तरिका परिवर्तन गर्दै अहिले बथनाहा र अमौनालाई नयाँ सुरक्षित क्षेत्रको रूपमा प्रयोग गर्न थालेका छन्। स्रोतहरूका अनुसार, टिकुलिया बस्तीका केही पुराना माफियाहरू अहिले ब्राउन सुगर लगायतका गम्भीर लागूपदार्थ कारोबारमा संलग्न छन्।
एसएसबीले समय समयमा गरेको कारवाहीबाट पनि यो पुष्टि भएको छ कि ड्रग्स कारोबार बिस्तारै बथनाहा र अमौना क्षेत्रमा सरेको छ। तर, मुख्य सरगनासम्म प्रहरी अनुसन्धान अझै पनि नपुगेको भन्दै स्थानीयहरू चिन्ता व्यक्त गरिरहेका छन्।
सम्बन्धित निकायले अझ गहिरो अनुसन्धान गर्दै मूल नेटवर्कको पर्दाफास गर्नुपर्ने माग उठिरहेको छ।