
रणभूमी डेस्क बुधबार, जेठ १४, २०८२

काठमाडौँ / प्रतिनिधिसभामा उठेका विषयहरूमा आफ्नो धारणा राख्न समय माग गरिएको गृहमन्त्री रमेश लेखकले बताएका छन्।
प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, प्रधानमन्त्रीको सचिवालयका अधिकारीहरूलगायतको उपस्थिति थियो। बैठकपछि गृहमन्त्री लेखकले संसद्मा बोल्नका लागि समय माग गरिएको जानकारी दिएका हुन्।
बैठकमा संसद् सञ्चालन र अवरोध हटाउने विषयमा छलफल भएको उनले बताए। त्यही बैठकबाट प्रधानमन्त्री ओलीले प्रमुख प्रतिपक्षी दल माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग फोन संवाद गरेका थिए। संसद् सञ्चालनबारे नै दुवै नेताबीच कुराकानी भएको हो।
गृहमन्त्री लेखकले भने, “संसद्मा आफ्ना धारणा राख्नका लागि मैले समय माग गरेको छु। संसद् अघि बढ्ने कि नबढ्ने भन्ने विषय प्रतिपक्षको निर्णयमा निर्भर छ।”
त्यसैबीच, प्रतिपक्षी दल माओवादी केन्द्र, रास्वपा, एकीकृत समाजवादी लगायतका दलहरूको बैठक संसद् भवनमा जारी छ।