
रणभूमी डेस्क बुधबार, जेठ १४, २०८२

बिराटनगर / झारफुक गर्ने बहानामा नाबालिकामाथि यौन दुर्व्यवहार गरेको अभियोगमा जिल्ला प्रहरी कार्यालय मोरङले एक जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा बिराटनगर महानगरपालिका वडा नं. ६ का ३५ वर्षीय महमद साबिर मलबी रहेका छन्। उनलाई बालबालिका सम्बन्धी कसुर (बाल यौन दुर्व्यवहार) मुद्दामा मोरङ जिल्ला अदालतबाट ७ दिन म्याद थप गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
घटनाको विवरण
प्रहरीका अनुसार, जिल्ला सिरहा घर भएकी १५ वर्षीया एक किशोरी विगत ३ वर्षदेखि बिराटनगर महानगरपालिका वडा नं. ६ रामपुरस्थित एक घरमा आफ्नै दिदीसँगै डेरा कोठा लिएर बसिरहेकी थिइन्।
विगत ५/६ महिनादेखि उक्त किशोरीमा अचानक बेहोस हुने, डराउने, आत्तिने जस्ता समस्या देखा परेका थिए। परिवारले अस्पतालमा लगेर उपचार गराए पनि स्वास्थ्यमा सुधार नभएपछि घरपरिवारका सदस्यहरूले स्थानीय झारफुके महमद साबिरकहाँ उपचारका लागि लगेका थिए।
दुर्व्यवहारको खुलासा
प्रहरीको भनाइअनुसार, महमद साबिरले विगत ३/४ महिनादेखि उपचारको नाममा किशोरीमाथि दुर्व्यवहार गर्दै आएका थिए। उनले उपचारका लागि रु ७०,००० माग गरेका थिए।
मिति २०८१ मंसिर १७ गते राति १०:०० बजे महमद साबिर किशोरीको घरमा आएर उपचार राति मात्र हुने भन्दै छुट्टै कोठाको माग गरेका थिए। उनले बिरामी र आफ्नो लागि अलग कोठा चाहिने भनेर किशोरीकी दिदीलाई जानकारी गराएका थिए।
त्यसपछि उनले उपचार गराउने बहानामा नाबालिकालाई छुट्टै कोठामा लगेर करिब आधा घण्टासम्म राखेका थिए।
उजुरी र पक्राउ
मिति २०८२ जेठ १३ गते किशोरीले रुँदै आफ्नी दिदीलाई महमद साबिरले कोठाभित्र संवेदनशील अंग छुने जस्तो यौन दुर्व्यवहार गरेको कुरा बताएकी थिइन्।
यसपछि पीडित किशोरी र उनकी दिदीले जिल्ला प्रहरी कार्यालय मोरङमा उजुरी दिएका थिए। उजुरीको आधारमा प्रहरीले महमद साबिरलाई पक्राउ गरेको हो।
प्रहरीको भनाइ
जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी नायब उपरीक्षक वेद प्रकाश जोशीले यस घटनाको पुष्टि गरे। उनका अनुसार आरोपीलाई बाल यौन दुर्व्यवहारको मुद्दामा अदालतबाट म्याद थप गराएर थप अनुसन्धान भइरहेको छ।