
रणभूमी डेस्क शुक्रबार, जेठ १६, २०८२

बिराटनगर / जिल्ला मोरङको बिराटनगर महानगरपालिका-१६ हुलास चोकमा प्रहरीले कुकुरको घाँटीको बेल्टमा लागुऔषध लुकाएर ल्याउँदै गरेको अभियोगमा एक जनालाई पक्राउ गरेको छ।
बुधबार साँझ ५ बजे इलाका प्रहरी कार्यालय रानीको संयुक्त टोलीले नियमित चेकजाँचका क्रममा मोरङ उर्लावारी गाउँपालिका वडा नम्बर ४ बस्ने २४ वर्षीय प्रसान भण्डारीलाई पक्राउ गरेको हो।
प्रहरी नायब निरीक्षक सुवास अधिकारी र लागुऔषध नियन्त्रण ब्यूरो बिराटनगरका प्रहरी हवल्दार कैलास दाहाल खत्रीको नेतृत्वमा खटिएको संयुक्त टोलीले संदिग्ध गतिविधिका आधारमा भण्डारीलाई चेकजाँच गरेको थियो।
चेकजाँचका क्रममा भण्डारीले डोराएको कुकुरको घाँटीको बेल्टमा लुकाएर राखेको अवस्थामा खैरो होरोईन जस्तो देखिने पदार्थ ३.३६ ग्राम र नाईट्राजेपाम लेखिएको ट्याब्लेट ३५ वटा बरामद भएको प्रहरीले जनाएको छ।
भारतबाट नेपाल तर्फ कुकुर डोराउँदै पैदल आइरहेका भण्डारीलाई कुकुरसहित नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय रानीमा ल्याइएको छ। घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
यस घटनाले सीमावर्ती क्षेत्रमा लागुऔषध ओसारपसारका लागि नयाँ तरिका अपनाइएको देखाएको छ। जसलाई नियन्त्रण गर्न ईलाका प्रहरी कार्यालय रानी (सीमा) र लागुऔषध नियन्त्रण ब्युरो को टोलीले अभियान चलाएर कुलतमा लागेकाहरुलाई कुलत त्याग्न र लागुऔषध ओसारपोसार कर्ता तथा कारोबारीलाई कारवाहीको दायरामा ल्याउन सक्रियतासाथ काम गरिरहेको छ ।