
रणभूमी डेस्क सोमबार, जेठ १९, २०८२

विराटनगर / आम नागरिकलाई सहज र सुलभ दरमा उच्च गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्यले २०० बेडको सुविधा सम्पन्न जीवन विकास सामुदायिक अस्पताल तथा टेक्निकल एजुकेशन फाउण्डेशनले सेवा प्रवाह सुरु गरेको छ।
अत्याधुनिक उपकरण र विशेषज्ञ चिकित्सक टोलीले सेवा प्रवाह गर्ने यस अस्पतालको उद्घाटन आगामी जेष्ठ २४ गते (शनिबार) प्रधानमन्त्री केपी शर्मा ओलीले गर्नुहुनेछ।
२ अर्बको लगानीमा निर्माण
२ अर्ब रुपैयाँको लागतमा निर्माण भएको यो अस्पताल सामाजिक व्यवसायको अवधारणामा आधारित छ जसले मुनाफा वितरण गर्दैन। एकै पटक ठूलो लगानीमा २०० बेडसहित सेवा प्रवाह गर्ने यो नेपालकै पहिलो अस्पताल भएको दाबी गरिएको छ।
बिसं २०५४ सालमा स्थापना भएको जीवन विकास समाजले गरिबी रहित नेपालको परिकल्पनासहित ग्रामीण क्षेत्र तथा विपन्न वर्गको जीवनस्तर उकास्न निरन्तर काम गर्दै आएको छ। मोरङको अमाहीवरियातीमा २४ घण्टे क्लिनिकबाट सुरु भएको यात्रा आज अत्याधुनिक सुविधासम्पन्न अस्पतालको रूपमा विकसित भएको छ।
व्यापक स्वास्थ्य सेवा
अस्पतालका अध्यक्ष योगेन्द्र मण्डलका अनुसार अस्पतालले आकस्मिक सेवा, दैनिक ओपिडी सेवा, नर्मल तथा पेनलेस डेलिभरी सेवा, जेनेरल तथा दुरबिनबाट सबै किसिमको अप्रेशन सेवा, बालरोग उपचार सेवा प्रदान गर्नेछ।
यसैगरी डाइलासिस, आइसियु, एनआइसियु, सिसियु, एचडीसियु, पीआइसियु / नर्सरी, डिजिटल एक्स-रे, भिडियो एक्स-रे, आधुनिक मेसिनबाट सबै किसिमको ल्याब सेवा, नाक कान घाटीको उपचार सेवा, आँखा जाँचलगायत सम्पूर्ण स्वास्थ्य सेवा उपलब्ध छ।
सामाजिक न्यायको प्रतिक
स्वास्थ्य सेवामा सामाजिक न्याय र सबै नागरिकको समान पहुँच सुनिश्चित गर्ने लक्ष्यसहित स्थापना भएको यो अस्पताल मुनाफा वितरण नगर्ने हुँदा सेवा शुल्क सुलभ हुने बताइएको छ।
विशेषज्ञ चिकित्सकसहित २०० जनशक्ति खटिएको यो अस्पताल २० बिघा क्षेत्रफलमा निर्माण भएको छ। भविष्यमा मेडिकल कलेज सञ्चालन गर्ने योजनासहित अस्पतालले आफ्नो सेवा क्षेत्र विस्तार गर्दै लैजाने जनाइएको छ।
अध्यक्ष मण्डलले भने, “जीवन विकास सामुदायिक अस्पताल उपचार केन्द्र मात्र नभएर सामाजिक न्याय र समानताको प्रतिक पनि हो। स्वस्थ समाज निर्माणको हाम्रो अभियानलाई सहयोग गरिदिनुहुन सबैसँग अपिल गर्दछु।”