
रणभूमी डेस्क सोमबार, जेठ १९, २०८२

विराटनगर / विराट मेडिकल कलेज टिचिङ हस्पिटलले पूर्वी नेपालमै पहिलोपटक न्यूक्लियर मेडिसिन तथा मोलिक्युलर इमेजिङ विभागको सुरुवात गरेको छ।
चिकित्सा क्षेत्रका विशेषज्ञहरू र अस्पताल प्रशासनको उपस्थितिमा आयोजित कार्यक्रममा यस विभागको औपचारिक सुरुवात गरिएको हो।
सीएमसीका न्यूक्लियर मेडिसिन विभाग प्रमुख डा. जीवन पौडेलले पूर्वी नेपालमा यस्तो प्रविधियुक्त विभाग सुरु हुनु स्वास्थ्य क्षेत्रमा ठूलो फड्को भएको बताए। उनले यसले क्यान्सर जस्ता जटिल रोगको निदान र उपचारमा नयाँ युग सुरु गरेको बताए।
अस्पतालका वरिष्ठ क्यान्सर सर्जनले पेटभित्र फैलिने क्यान्सरको उपचारका लागि हाइपेक सेवा पनि पूर्वमै पहिलोपटक सञ्चालनमा ल्याइएको घोषणा गरे।
रक्त तथा क्यान्सर रोग विशेषज्ञ डा. सुलभ सापकोटा र डा. अस्मिता रायमाझीले विभागको सुरुवातसँगै क्यान्सर उपचार सहज र भरपर्दो हुने बताए।
संस्थापक अध्यक्ष डा. ज्ञानेन्द्रमान सिंह कार्कीले भने, “विराट मेडिकल कलेज टिचिङ हस्पिटल स्थापना गर्दा सेवा, शिक्षा र सामाजिक परिवर्तनको केन्द्र बनाउने लक्ष्य राखेका थियौं। न्यूक्लियर मेडिसिन विभागको सुरुवातले त्यो परिकल्पना मजबुत बनेको छ।”
उनले स्वास्थ्य सेवा नाफामुखी नभएर सेवामुखी हुनुपर्ने बताए। बिरामीहरूले उपचारका लागि काठमाडौं वा विदेश जान नपरोस् भन्ने उद्देश्यले यो सेवा सुरु गरिएको उनको भनाइ छ।
अस्पतालका सीईओ डा. निकिता कार्कीले अस्पताललाई अझ सुविधासम्पन्न र प्रविधिमैत्री बनाउने लक्ष्यसहित आगामी दिनमा थप सेवा विस्तार गरिने बताइन्।